नुवाकोटका ऐतिहासिक तथा धार्मिक संस्थाका नाममा दर्ता सरकारी जग्गा सरकारकै नाममा फिर्ता ल्याउनुपर्छ : अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट, / अधिवक्ता रामेश्वर भण्डारीले नुवाकोट जिल्लामा शेरा दरबार, भैरबी मन्दिर, जलापा देवी, देवीदेवस्थान तथा विभिन्न मठ–मन्दिरका नाममा दर्ता रहेका सरकारी प्रकृतिका जग्गाहरूको यथार्थ छानबिन गरी आवश्यक कानुनी प्रक्रिया पूरा गरेर सरकारकै नाममा फिर्ता ल्याउनुपर्ने बताएका छन्।
भण्डारीले सार्वजनिक सम्पत्ति र सरकारी जग्गाको संरक्षण राज्यको दायित्व भएको उल्लेख गर्दै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदासँग सम्बन्धित जग्गाहरूको अभिलेख अद्यावधिक गर्न आवश्यक रहेको बताए। उनका अनुसार विगतमा विभिन्न कारणले व्यक्ति, संस्था वा गुठी तथा धार्मिक निकायका नाममा दर्ता भएका जग्गाको वास्तविक अवस्था अध्ययन गरी सार्वजनिक हितअनुसार व्यवस्थापन गरिनुपर्छ।
उनले हाल सरकारले रावल आयोगको प्रतिवेदन कार्यान्वयन प्रक्रिया अगाडि बढाएको सन्दर्भमा नुवाकोटका यस्ता सम्पत्तिको पनि विस्तृत अध्ययन हुनुपर्ने धारणा व्यक्त गरे। “शेरा दरबार, भैरबी, जलापा, देवीदेवस्थान तथा विभिन्न मठ–मन्दिरका नाममा रहेका जग्गाको स्वामित्व, उपयोग र कानुनी अवस्थाबारे छानबिन गरी सरकारी प्रकृतिका जग्गा भए सरकारकै नाममा कायम गर्नुपर्छ,” भण्डारीले भने।
उनका अनुसार सार्वजनिक तथा सरकारी सम्पत्तिको संरक्षणले ऐतिहासिक सम्पदाको सुरक्षा, अतिक्रमण नियन्त्रण तथा भावी पुस्ताका लागि राष्ट्रिय सम्पत्तिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउनेछ।
भण्डारीले सम्बन्धित निकायलाई नापी, मालपोत, गुठी तथा स्थानीय तहसँग समन्वय गरी यस्ता जग्गाको तथ्यगत विवरण संकलन गर्न र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेका छन्। उनले सार्वजनिक सम्पत्तिको संरक्षणलाई राजनीतिक विषयभन्दा माथि उठेर राष्ट्रिय हितको विषयका रूपमा लिनुपर्ने समेत बताएका छन्।
Home banner news नुवाकोटका ऐतिहासिक तथा धार्मिक संस्थाका नाममा दर्ता सरकारी जग्गा सरकारकै नाममा फिर्ता...











