तादी गाउँपालिकामा दोस्रो अन्तर–विद्यालय उपाध्यक्ष कप छात्रा भलिबल प्रतियोगिता सम्पन्न

0

नुवाकोट, तादी।
गणतन्त्र दिवस तथा सगरमाथा दिवसको अवसरमा तादी गाउँपालिकाको समन्वय तथा ग्रीन तारा फाउण्डेशनको आयोजनामा २०८३ जेठ १५ र १६ गते सञ्चालन भएको दोस्रो अन्तर–विद्यालय उपाध्यक्ष कप छात्रा भलिबल प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ।
समापन समारोह तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङको प्रमुख आतिथ्यता तथा गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेलको सभाध्यक्षतामा सम्पन्न भएको थियो।
कार्यक्रममा ग्रीन तारा फाउण्डेशनका संस्थापक तासी तेन्जिङ शेर्पा र अध्यक्ष बन्दी निमा शेर्पा विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए। त्यसैगरी वडा अध्यक्ष अश्विन कुमार पाण्डे, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, नेकपा तादी गाउँपालिका संयोजक तथा बागमती प्रदेश समिति सदस्य रोशन श्रेष्ठ, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, अमर ज्योति प्राविधिक विद्यालयका प्रधानाध्यापक सुरेन्द्र अधिकारी, सुन्दरादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजन पाठक, सहभागी विद्यालयका प्रधानाध्यापक, शिक्षक, सुरक्षाकर्मी, समाजसेवी, नागरिक समाजका प्रतिनिधि तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
दुई दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न विद्यालयका छात्रा टोलीहरूले उत्साहजनक प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयका टोलीहरूलाई पुरस्कार, मेडल तथा प्रमाणपत्र वितरण गरिएको थियो।
कार्यक्रममा वक्ताहरूले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै यस्ता प्रतियोगिताले छात्राहरूको प्रतिभा उजागर गर्न थप अवसर प्रदान गर्ने विश्वास व्यक्त गरेका थिए।
पुरस्कार वितरणसँगै प्रतियोगिता औपचारिक रूपमा समापन गरिएको आयोजकले जनाएको छ।

तादी उपाध्यक्ष महिला भलिबल कप प्रतियोगिता प्रदेशसभा सदस्य राधिका तामाङद्वारा उद्घाटन

0


नुवाकोट खरानीटार ।
तादी गाउँपालिकाको समन्वय र नेपाल ग्रीन तारा फाउन्डेसनको आयोजनामा सञ्चालन भएको तादी उपाध्यक्ष कप महिला भलिबल प्रतियोगिता प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री राधिका तामाङद्वारा उद्घाटन गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित प्रदेशसभा सदस्य राधिका तामाङले प्रतियोगिताको उद्घाटन गर्दै खेलकुदले महिला सशक्तीकरण, नेतृत्व विकास तथा सामाजिक एकता अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन्।
कार्यक्रममा नेपाल ग्रीन तारा फाउन्डेसनका अध्यक्ष, संस्थापक अध्यक्ष, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू लगायतका व्यक्तित्वहरूको विशेष आतिथ्यता रहेको थियो। साथै विभिन्न विद्यालयका विद्यार्थी, शिक्षक, अभिभावक तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
प्रतियोगिताको अध्यक्षता तादी गाउँपालिकाकी उपाध्यक्ष सन्जु प्याकुरेलले गरेकी थिइन्। कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष प्याकुरेलले महिलाहरूको खेल प्रतिभा उजागर गर्न तथा खेलकुदमार्फत स्वस्थ र सक्रिय समाज निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइन्।

कौशल बोर्डिङ स्कुलको एसईई बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न, उत्कृष्ट शिक्षक र विद्यार्थी सम्मानित

0

तारकेश्वर काठमाडौ ।
कौशल बोर्डिङ स्कुलद्वारा आयोजित एसईई (SEE) बिदाइ तथा सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिका रूपमा सुधिनराज बुढाथोकी तथा विशेष अतिथिका रूपमा प्रा. डा. नवराज कट्टेलको गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक सफलतामा महत्वपूर्ण योगदान पुर्‍याउने समर्पित शिक्षकहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो। त्यसैगरी, एसईई परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीलाई पनि नगद पुरस्कार प्रदान गरी सम्मान गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा वक्ताहरूले शिक्षा, अनुशासन र निरन्तर मेहनतले जीवनमा सफलता हासिल गर्न सकिने उल्लेख गर्दै एसईई उत्तीर्ण विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका थिए।
विद्यालयले एसईई उत्तीर्ण सम्पूर्ण विद्यार्थीहरूलाई हार्दिक बधाई तथा आगामी शैक्षिक यात्राका लागि सफलताको शुभकामना व्यक्त गरेको छ।
कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउनुहुने प्रमुख अतिथि, विशेष अतिथि, अभिभावक, शिक्षक, विद्यार्थी तथा सम्पूर्ण विद्यालय परिवारप्रति विद्यालयले आभार व्यक्त गरेको छ।

गृहिणी महिलालाई आत्मनिर्भर र उद्यमशील बनाउने लक्ष्यसहित तादीमा सिलाइ–कटाइ तालिम शुभारम्भ

0


तादी, नुवाकोट ।
तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेलको अध्यक्षतामा  मिति २०८३ जेठ १४ गते गृहिणी महिला सशक्तीकरण तथा उद्यमशीलता तालिम अन्तर्गत सिलाइ–कटाइ तालिम कार्यक्रम समुद्घाटन  औपचारिक रूपमा शुभारम्भ गरिएको छ।
कार्यक्रममा सहभागी गृहिणी महिला दिदीबहिनीहरूको उत्साहजनक उपस्थितिका बीच तालिमको उद्घाटन गरिएको हो। तालिममार्फत महिलाहरूलाई सीपमूलक ज्ञान प्रदान गरी आत्मनिर्भर, व्यवसायिक तथा उद्यमशील बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
उपाध्यक्ष प्याकुरेलले महिलाको आर्थिक सशक्तीकरण बिना समृद्ध समाज निर्माण सम्भव नहुने उल्लेख गर्दै यस्ता सीपमूलक तालिमले महिलाहरूलाई स्वरोजगार तथा आयआर्जनका  सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
तादी गाउँपालिकाले महिला सशक्तीकरण, उद्यम विकास तथा स्वरोजगार प्रवर्द्धनका लागि आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। तालिमबाट सहभागी महिलाहरूले व्यवहारिक सीप हासिल गरी आफ्नै व्यवसाय सञ्चालन गर्न सक्षम हुने अपेक्षा गरिएको छ।

ढुन्डीराज–रामबहादुर स्मृति अक्षयकोषद्वारा मालिका माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

0

ढुन्डीराज–रामबहादुर स्मृति अक्षयकोषद्वारा मालिका माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
नुवाकोट ।
बेलकोटगढी नगरपालिका–६ स्थित श्री मालिका माध्यमिक विद्यालयका संस्थापकहरूको नाममा स्थापित ढुन्डीराज–रामबहादुर स्मृति अक्षयकोषको तर्फबाट आर्थिक वर्ष २०८२ का लागि विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङ, वडा नं. ६ का अध्यक्ष अम्बिका तामाङ, मालिका माविका प्रधानाध्यापक केशव बाँस्कोटा, गौलिङ्गेश्वर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज सुवेदी लगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
अक्षयकोषमार्फत विद्यार्थीहरूको शैक्षिक विकासमा सहयोग पुर्‍याउने उद्देश्यले सामग्री वितरण गरिएको जनाइएको छ। कार्यक्रममा सहभागी अतिथिहरूले शिक्षाको गुणस्तर अभिवृद्धि तथा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई प्रोत्साहन गर्ने यस्ता कार्यको प्रशंसा गरेका थिए।
यस वर्ष शैक्षिक सामग्री प्राप्त गर्ने विद्यार्थीहरूमा:
सिता तामाङ – कक्षा ८
कञ्चना तामाङ – कक्षा ७
राजु तामाङ – कक्षा ६
आशिष तामाङ – कक्षा ५
उत्सव तामाङ – कक्षा ३
रहेका छन्।
अक्षयकोषका तर्फबाट कार्यक्रम सफल बनाउन सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै सामग्री प्राप्त गर्ने विद्यार्थीहरूको उज्ज्वल शैक्षिक भविष्यको शुभकामना व्यक्त गरिएको छ।

SEE २०८२ मा सृजना ज्ञानसागरको शतप्रतिशत सफलता, विद्यालयमा उत्साहको माहोल

0

 

काठमाडौँ,  तारकेश्वर क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि परिचित सृजना ज्ञानसागर सेकेण्डरी स्कूलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ मा उल्लेखनीय सफलता हासिल गरेको छ। परीक्षामा सहभागी सबै विद्यार्थी उत्तीर्ण हुँदै विद्यालयले शतप्रतिशत नतिजा ल्याउन सफल भएपछि विद्यालय परिवारमा खुसी छाएको छ।विद्यालयले यस सफलतालाई विद्यार्थीहरूको निरन्तर मेहनत, शिक्षकहरूको समर्पित शिक्षण र अभिभावकहरूको विश्वासको संयुक्त उपलब्धिका रूपमा लिएको छ। शैक्षिक उत्कृष्टतासँगै अनुशासन, संस्कार र नैतिक शिक्षालाई प्राथमिकता दिँदै आएको विद्यालयले निरन्तर उत्कृष्ट नतिजा निकाल्दै आएको छ।विद्यालयका प्रिन्सिपल राजेन्द्र प्रसाद फुयाँलले सफल विद्यार्थीहरूलाई बधाई दिँदै उनीहरूको उज्ज्वल भविष्यको कामना गर्नुभएको छ। उहाँले भन्नुभयो,

“यो सफलता सम्पूर्ण सृजना ज्ञानसागर परिवारको साझा मेहनत र समर्पणको परिणाम हो। विद्यार्थीहरूले आगामी दिनमा पनि ज्ञान, अनुशासन, आत्मविश्वास र सदाचारलाई आत्मसात गर्दै समाज र राष्ट्रका लागि जिम्मेवार नागरिक बन्न सफल होऊन् भन्ने हाम्रो अपेक्षा छ। तारकेश्वर क्षेत्रमा शैक्षिक गुणस्तरका कारण छुट्टै पहिचान बनाएको यस विद्यालयले हरेक वर्ष नतिजामा सुधार गर्दै आएको छ। “हामी केवल विद्यार्थी होइन, सक्षम र जिम्मेवार नागरिक निर्माण गर्छौं” भन्ने उद्देश्यका साथ विद्यालयले शिक्षण गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ।विद्यालयले SEE मा उत्कृष्ट सफलता हासिल गर्ने विद्यार्थीहरूलाई विशेष सम्मान गर्ने कार्यक्रमसमेत आयोजना गर्ने तयारी गरेको छ। साथै, आगामी शैक्षिक यात्रामा अझ ठूलो सफलता हासिल गर्न विद्यार्थीहरूलाई प्रेरित गरिएको विद्यालयले जनाएको छ।

नुवाकोटको बामपंथी आन्दोलन गैर–बामपंथीहरूले कब्जा गरे, आन्दोलन जोगाउन स्वतन्त्र बामपंथी एकता अनिवार्य : अधिवक्ता रामेश्वर भण्डारी

0

नुवाकोटको बामपंथी आन्दोलन गैर–बामपंथीहरूले कब्जा गरे, आन्दोलन जोगाउन स्वतन्त्र बामपंथी एकता अनिवार्य : अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट ।
अधिवक्ता रामेश्वर भण्डारीले नुवाकोटमा लामो समयदेखि स्थापित बामपंथी आन्दोलन अहिले सिद्धान्तभन्दा व्यक्तिगत स्वार्थ, अवसरवाद र गैर–बामपंथी प्रभावको चपेटामा परेको बताएका छन् । उनले वास्तविक बामपंथी मूल्य, विचार र जनमुखी राजनीतिलाई जोगाउन स्वतन्त्र बामपंथी शक्तिहरूबीच एकता अपरिहार्य भएको धारणा व्यक्त गरे ।
भण्डारीले बामपंथी आन्दोलन जनताको अधिकार, समानता, सामाजिक न्याय र परिवर्तनको आधारमा स्थापित भए पनि पछिल्लो समय आन्दोलनभित्रै विचारहीनता, गुटबन्दी र सत्ता–केन्द्रित प्रवृत्ति हाबी भएको बताए । उनले आन्दोलनको नाम प्रयोग गरेर गैर–बामपंथी चरित्र बोकेका व्यक्तिहरूले संगठन र नेतृत्व कब्जा गर्दा वास्तविक कार्यकर्ता निराश बनेको उल्लेख गरे ।
“बामपंथी आन्दोलनलाई जोगाउने हो भने अब सिद्धान्तनिष्ठ, इमानदार र जनताप्रति उत्तरदायी शक्तिहरू एक ठाउँमा उभिनुपर्छ,” उनले भने, “जनताको पक्षमा संघर्ष गर्ने वास्तविक बामपंथीहरू विभाजित भइरहँदा अवसरवादीहरू बलियो भएका छन् ।”
उनले नुवाकोटको राजनीतिक इतिहासमा बामपंथी आन्दोलनले महत्वपूर्ण योगदान दिएको स्मरण गर्दै अहिलेको चुनौती भनेकै आन्दोलनको मौलिकता र जनविश्वास जोगाउनु रहेको बताए । भण्डारीका अनुसार बामपंथी राजनीति केवल चुनाव जित्ने माध्यम नभई समाज परिवर्तनको वैचारिक अभियान भएकाले त्यसलाई व्यक्तिगत लाभको साधन बनाउन नहुने धारणा राखे ।
अधिवक्ता भण्डारीले युवा पुस्तालाई पनि विचार, सिद्धान्त र जनउत्तरदायित्वसहित राजनीतिमा सक्रिय हुन आग्रह गर्दै निष्ठावान र स्वतन्त्र बामपंथी शक्तिहरूको साझा मोर्चा निर्माण गर्न समयको आवश्यकता रहेको बताए ।

डाँडाकाँडामा मोबाइल नेटवर्क नै नटिप्ने नुवाकोटलाई ‘डिजिटल विकास’को भाषण मात्र : अधिवक्ता रामेश्वर भण्डारी

0

डाँडाकाँडामा मोबाइल नेटवर्क नै नटिप्ने नुवाकोटलाई ‘डिजिटल विकास’को भाषण मात्र : अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट ।
अधिवक्ता रामेश्वर भण्डारीले नुवाकोटका धेरै ग्रामीण तथा डाँडाकाँडाका क्षेत्रमा अहिले पनि मोबाइल नेटवर्क र इन्टरनेट सेवा प्रभावकारी रूपमा नपुगेको भन्दै विकासका नाममा केवल भाषण मात्र भइरहेको बताएका छन् ।
उनले “डिजिटल नेपाल”, “स्मार्ट सेवा” र “प्रविधिमैत्री विकास”का नाराहरू सुनिए पनि नुवाकोटका धेरै बस्तीमा सामान्य फोन गर्नसमेत समस्या हुने अवस्था रहेको उल्लेख गरे ।
भण्डारीले गाउँगाउँमा नेटवर्क नपुग्दा विद्यार्थीको अनलाइन अध्ययन, नागरिकको सूचना पहुँच, आपतकालीन सेवा तथा सरकारी सेवा प्रवाहसमेत प्रभावित भइरहेको बताए ।
“अहिलेसम्म नुवाकोटका डाँडाकाँडामा राम्रोसँग मोबाइल नेटवर्क टिप्दैन, अनि हल्ला चाहिँ डिजिटल विकासको गरिन्छ । वास्तविक विकास भाषणले होइन, नागरिकले अनुभूति गर्ने सेवाले देखिनुपर्छ,” उनले भने ।
उनले राज्यले दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर दूरसञ्चार सेवा विस्तार, गुणस्तरीय इन्टरनेट पहुँच र डिजिटल पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।
साथै उनले विकासका नाममा केवल प्रचारमुखी कार्यक्रमभन्दा आधारभूत सेवामा लगानी गर्न आवश्यक रहेको बताए ।

विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग : ओखलढुङ्गा विपद् व्यवस्थापन समाजद्वारा जाल्पा माविमा विद्यालयमा झोला वितरण

0


ओखलढुङ्गा । ओखलढुङ्गा जिल्ला लिखु गाउँपालिका–८, टारकेराबारीस्थित श्री जाल्पा माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक तथा कर्मचारीहरूलाई ओखलढुङ्गा विपद् व्यवस्थापन समाजले विद्यालय झोला वितरण गरेको छ। शैक्षिक सामग्रीको अभावका कारण कुनै पनि विद्यार्थीको अध्ययन प्रभावित नहोस् भन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरू निकै उत्साहित र हर्षित देखिएका थिए। समाजले गरेको सहयोगले विद्यालयमा सकारात्मक ऊर्जा थपिएको विद्यालय परिवारले जनाएको छ।
कार्यक्रममा पोकली झरना सेवा समाजका संस्थापक अध्यक्ष तथा ओखलढुङ्गा विपद् व्यवस्थापन समाजका अध्यक्ष गुरु केदार बरालले शिक्षा नै जीवन परिवर्तनको सबैभन्दा बलियो आधार भएको बताउँदै विद्यार्थीहरूलाई ठूलो सपना देख्न, निरन्तर मेहनत गर्न तथा कठिन परिस्थितिसँग कहिल्यै हार नमान्न आग्रह गर्नुभयो। उहाँले शिक्षामा गरिएको सहयोग र लगानी कहिल्यै खेर नजाने उल्लेख गर्दै यसले भविष्यमा सक्षम, सचेत र समृद्ध समाज निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
ओखलढुङ्गा विपद् व्यवस्थापन समाजका सदस्य तथा अधिवक्ता सुरेन्द्र बोगटीले शिक्षाको महत्त्वबारे प्रकाश पार्दै विद्यार्थीहरूलाई अध्ययनमा निरन्तर लागिरहन प्रेरणा दिनुभयो। उहाँले ग्रामीण क्षेत्रका विद्यार्थीहरूलाई अवसरसँग जोड्न समाजको भूमिका महत्वपूर्ण रहने धारणा व्यक्त गर्नुभयो।
समाजसेवी दिनेश कार्कीले ओखलढुङ्गालाई पोकली झरना तथा प्राकृतिक सम्पदामार्फत चिनाउने अभियानसँगै समाजसेवाका उदाहरणीय कार्यहरू गुरु केदार बरालले निरन्तर गरिरहनुभएको उल्लेख गर्नुभयो। उहाँले यस्ता सामाजिक अभियानमा सहकार्य गर्न पाउँदा आफूलाई अत्यन्त खुसी लागेको बताउँदै समाजसेवामार्फत सकारात्मक परिवर्तन सम्भव रहेको धारणा व्यक्त गर्नुभयो।
त्यस्तै, समाजसेवी दीपक कटुवालले खोटाङ र ओखलढुङ्गाको भूगोल तथा सामाजिक परिवेश धेरै हदसम्म समान रहेको उल्लेख गर्दै ओखलढुङ्गा आएर विद्यार्थीहरूसँग जोडिन पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो।
आदित्य मुडबरीले टारकेराबारी क्षेत्र आफूलाई अत्यन्त मन परेको बताउँदै यहाँका विद्यार्थीहरूको शैक्षिक विकासका लागि आगामी दिनमा पनि हरेक सम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विद्यालयका प्रधानाध्यापक कैलाश पौडेलले ओखलढुङ्गा विपद् व्यवस्थापन समाजले विद्यालयप्रति देखाएको आत्मीय सहयोग अत्यन्त प्रशंसनीय रहेको बताउनुभयो। उहाँले यस्ता सहकार्यले विद्यार्थीहरूमा नयाँ ऊर्जा र आत्मविश्वास थपिएको उल्लेख गर्दै विद्यालय एक्लैले सबै जिम्मेवारी पूरा गर्न नसक्ने भएकाले सामाजिक संस्थाहरूको साथ आवश्यक रहेको धारणा राख्नुभयो।
कार्यक्रमको सञ्चालन शिक्षक बासु गौतमले गर्नुभएको थियो। उहाँले कार्यक्रमलाई व्यवस्थित, प्रेरणादायी तथा भावनात्मक ढंगले सञ्चालन गर्दै विद्यार्थीहरूलाई शिक्षा, अनुशासन र सकारात्मक सोचतर्फ अग्रसर हुन प्रेरित गर्नुभएको थियो।
विद्यालय परिवारले ओखलढुङ्गा विपद् व्यवस्थापन समाज तथा सहयोगमा संलग्न सम्पूर्ण महानुभावहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्दै यस्ता सामाजिक कार्यले विद्यार्थीहरूमा नयाँ आशा, उत्साह र आत्मबल थपिएको जनाएको छ।

अहिलेको बजेटमै छहरे–टोखा सुरुङमार्गका लागि बजेट व्यवस्था गरियोस्, कुरामात्र होइन काम गरेर देखाउनुपर्छ : अधिवक्ता रामेश्वर भण्डारी

0

अहिलेको बजेटमै छहरे–टोखा सुरुङमार्गका लागि बजेट व्यवस्था गरियोस्, कुरामात्र होइन काम गरेर देखाउनुपर्छ : अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट ।
अधिवक्ता रामेश्वर भण्डारीले वर्षौंदेखि चर्चामा रहेको छहरे–टोखा सुरुङमार्गलाई अब केवल भाषण, घोषणा र चुनावी नारामा सीमित नराखी तत्काल कार्यान्वयनतर्फ लैजान सरकारसँग माग गरेका छन् ।
उनले आगामी आर्थिक वर्षको बजेटमार्फत उक्त सुरुङमार्ग निर्माणका लागि स्पष्ट रूपमा बजेट व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याउँदै नुवाकोटसहित समग्र बागमती प्रदेशको विकाससँग यो आयोजना प्रत्यक्ष जोडिएको बताए ।
भण्डारीका अनुसार छहरे–टोखा सुरुङमार्ग निर्माण भए काठमाडौं–नुवाकोट आवतजावत सहज हुने, यात्रा समय घट्ने, ट्राफिक चाप कम हुने तथा कृषि, पर्यटन, व्यापार र लगानीका क्षेत्रमा सकारात्मक प्रभाव पर्नेछ ।
“वर्षौंदेखि जनताले सुन्दै आएको यो योजना अब फेरि आश्वासनमै सीमित हुनु हुँदैन । अहिलेको बजेटमै सुरुङमार्गका लागि आवश्यक बजेट विनियोजन गरेर सरकारले कामको थालनी गर्नुपर्छ,” उनले भने ।
उनले विकासका ठूला आयोजनालाई राजनीतिक बहसको विषय मात्रै बनाइराख्दा जनतामा निराशा बढ्दै गएको उल्लेख गर्दै अब परिणाम देखिने गरी काम अघि बढाउनुपर्ने धारणा राखे ।
अधिवक्ता भण्डारीले राष्ट्रिय महत्वका पूर्वाधार योजनाहरूलाई प्राथमिकतामा राखी दीर्घकालीन आर्थिक समृद्धि र क्षेत्रीय विकासका आधारका रूपमा अगाडि बढाउन सरकारसँग आग्रह गरेका छन् ।

तत्कालको समाचार

गाउँपालिकामा बाल विवाह अन्त्यका लागि विद्यालयस्तरीय सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

गाउँपालिकामा बाल विवाह अन्त्यका लागि विद्यालयस्तरीय सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न तादी, नुवाकोट । तादी गाउँपालिका उपाध्यक्ष तथा बाल विवाह अन्त्य अभियानकी संयोजक पालिका उपाध्यक्ष...

नेपाल, अब उठ्ने, सक्रिय बन्ने र स्वस्थ जीवनशैली अपनाउने समय आएको...

नेपाल, अब उठ्ने, सक्रिय बन्ने र स्वस्थ जीवनशैली अपनाउने समय आएको छ! Call Mobility Pvt. Ltd. (HUAWEI) ले नेपालमा नयाँ HUAWEI WATCH FIT 5...

छहरे–टोखा सुरुङमार्ग फेरि पनि अध्ययनमै : अध्ययनले नै खायो २० वर्ष...

नुवाकोट,  /अधिवक्ता रामेश्वर भण्डारीले नुवाकोट–काठमाडौं जोड्ने बहुप्रतीक्षित छहरे–टोखा सुरुङमार्ग निर्माण योजना दुई दशक बितिसक्दा पनि अध्ययनकै चरणमा सीमित रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभएको...