अहिलेको बजेटमै छहरे–टोखा सुरुङमार्गका लागि बजेट व्यवस्था गरियोस्, कुरामात्र होइन काम गरेर देखाउनुपर्छ : अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट ।
अधिवक्ता रामेश्वर भण्डारीले वर्षौंदेखि चर्चामा रहेको छहरे–टोखा सुरुङमार्गलाई अब केवल भाषण, घोषणा र चुनावी नारामा सीमित नराखी तत्काल कार्यान्वयनतर्फ लैजान सरकारसँग माग गरेका छन् ।
उनले आगामी आर्थिक वर्षको बजेटमार्फत उक्त सुरुङमार्ग निर्माणका लागि स्पष्ट रूपमा बजेट व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याउँदै नुवाकोटसहित समग्र बागमती प्रदेशको विकाससँग यो आयोजना प्रत्यक्ष जोडिएको बताए ।
भण्डारीका अनुसार छहरे–टोखा सुरुङमार्ग निर्माण भए काठमाडौं–नुवाकोट आवतजावत सहज हुने, यात्रा समय घट्ने, ट्राफिक चाप कम हुने तथा कृषि, पर्यटन, व्यापार र लगानीका क्षेत्रमा सकारात्मक प्रभाव पर्नेछ ।
“वर्षौंदेखि जनताले सुन्दै आएको यो योजना अब फेरि आश्वासनमै सीमित हुनु हुँदैन । अहिलेको बजेटमै सुरुङमार्गका लागि आवश्यक बजेट विनियोजन गरेर सरकारले कामको थालनी गर्नुपर्छ,” उनले भने ।
उनले विकासका ठूला आयोजनालाई राजनीतिक बहसको विषय मात्रै बनाइराख्दा जनतामा निराशा बढ्दै गएको उल्लेख गर्दै अब परिणाम देखिने गरी काम अघि बढाउनुपर्ने धारणा राखे ।
अधिवक्ता भण्डारीले राष्ट्रिय महत्वका पूर्वाधार योजनाहरूलाई प्राथमिकतामा राखी दीर्घकालीन आर्थिक समृद्धि र क्षेत्रीय विकासका आधारका रूपमा अगाडि बढाउन सरकारसँग आग्रह गरेका छन् ।

LEAVE A REPLY