1. भारी वर्षाको जोखिमका कारण राति अत्यावश्यकबाहेकका सवारी सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय नुवाकोटको अनुरोध
    नुवाकोट, साउन २ — जिल्ला प्रशासन कार्यालय नुवाकोटले भारी वर्षा र त्यसबाट हुन सक्ने विपद्को जोखिमलाई मध्यनजर गर्दै आज (साउन २ गते) र भोलि (साउन ३ गते) रातिको समयमा अत्यावश्यकबाहेकका सवारीसाधन सञ्चालन नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
    जिल्ला प्रशासन कार्यालयका अनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार नुवाकोटसहित विभिन्न जिल्लामा अत्यधिक वर्षा हुने सम्भावना रहेको छ। यसका कारण अचानक बाढी, पहिरो, गेग्रान बहाव तथा सडक अवरोध हुन सक्ने उच्च जोखिम रहेको भन्दै रातिको समयमा यात्रा नगर्न आग्रह गरिएको हो।
    प्रशासनले साउन २ र ३ गते राति १०:०० बजेदेखि बिहान ५:०० बजेसम्म एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारीसाधनलगायत अत्यावश्यक सेवाका सवारीबाहेक अन्य सबै सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गर्ने निर्णय गरिएको जनाएको छ।
    प्रशासनले मौसमको अवस्था र सडकको जोखिमलाई ध्यानमा राखी अत्यावश्यक काम नपरेसम्म घरबाहिर ननिस्कन, रातिको समयमा यात्रा नगर्न तथा विपद्सम्बन्धी सूचना र निर्देशनको पालना गर्न सबै नागरिक, यातायात व्यवसायी तथा सरोकारवालालाई अनुरोध गरेको छ।
    साथै, मौसममा सुधार आएमा वा सडकको अवस्थाअनुसार आवश्यक निर्णय परिवर्तन हुन सक्ने प्रशासनले जनाएको छ। विपद्सम्बन्धी सूचना तथा सहयोगका लागि नेपाल प्रहरी १००, सशस्त्र प्रहरी बल ११४४ तथा जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र (DEOC) को १२३४ नम्बरमा सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ।

LEAVE A REPLY