रसुवाको डिखेत गाउँ  जोखिममा — संरक्षणका लागि तत्काल पहल गर्न स्थानीयको माग
रसुवा। रसुवाको डिखेत गाउँमा ठूलो पहिरो गएपछि स्थानीय बस्ती तथा खेतीयोग्य जमिन उच्च जोखिममा परेको छ। पहिरोका कारण स्थानीयवासी त्रसित बनेका छन् भने थप वर्षा भए क्षति अझ बढ्न सक्ने चिन्ता व्यक्त गरिएको छ।
स्थानीयका अनुसार पहिरोको प्रभाव प्राकृतिक कारणसँगै जिरोकिलो–सिम्ले–भोर्ले–अम्बास सडक निर्माणका क्रममा भएको खन्ने तथा भौगोलिक संरचनामा आएको परिवर्तनका कारण पनि बढेको हुन सक्ने अनुमान गरिएको छ। यद्यपि यसको वास्तविक कारण प्राविधिक अध्ययनबाट मात्रै पुष्टि हुन सक्ने सरोकारवालाहरू बताउँछन्।
स्थानीयवासीहरूले बस्ती र खेतीयोग्य जमिन जोगाउन तत्काल भू–प्राविधिक अध्ययन गरी आवश्यक संरक्षणका काम सुरु गर्न माग गरेका छन्। सम्भावित ठूलो क्षति रोक्न स्थानीय सरकारमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराई तटबन्ध, पहिरो नियन्त्रण तथा जोखिम न्यूनीकरणका उपाय तत्काल कार्यान्वयन गर्नुपर्ने उनीहरूको भनाइ छ।
स्थानीय समाजसेवी विश्वास नेपालीले तादी मिडियालाई दिएको जानकारीअनुसार, डिखेत गाउँमा गएको पहिरोका कारण बस्ती र खेती दुवै जोखिममा परेका छन्। उनले सम्बन्धित निकायलाई तत्काल स्थलगत अनुगमन गरी आवश्यक संरक्षणका कार्य अघि बढाउन आग्रह गरेका छन्।

LEAVE A REPLY