नुवाकोटमा विपद् व्यवस्थापनसम्बन्धी जानकारीका लागि १२३४ नम्बरमा सम्पर्क गर्न आग्रह
नुवाकोट, जिल्ला प्रशासन कार्यालय नुवाकोटले विपद्सम्बन्धी सूचना, समस्या, गुनासा तथा सुझावका लागि १२३४ नम्बरमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
गृह मन्त्रालयअन्तर्गतको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र (DEOC) ले सञ्चालनमा ल्याएको उक्त सेवा निःशुल्क रहेको छ। १२३४ नम्बरमा फोन गर्दा सम्बन्धित जिल्लाको DEOC मा सिधै सम्पर्क हुने व्यवस्था गरिएको छ।
यस सेवामार्फत बाढी, पहिरो, भूकम्प, हावाहुरी, डढेलो, अविरल वर्षा, हिमपहिरो तथा हिमताल विस्फोट, खडेरी, चट्याङ र शीतलहरलगायतका विपद्सम्बन्धी सूचना दिन, समस्या जानकारी गराउन, गुनासो दर्ता गर्न तथा सुझाव दिन सकिने जनाइएको छ।
जिल्ला प्रशासन कार्यालयले विपद्को समयमा सरकारी निकायबाट जारी हुने एडभाइजरी तथा सुरक्षा निर्देशनको अनिवार्य पालना गर्न, सतर्क रहन र कुनै पनि आपतकालीन अवस्था देखिएमा ढिलाइ नगरी १२३४ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। साथै उक्त नम्बरको जानकारी आफ्नो समुदायमा समेत साझा गरी विपद् जोखिम न्यूनीकरणमा सहयोग पुर्‍याउन सबैमा अनुरोध गरिएको छ।

LEAVE A REPLY