सरामथलीमा पहिरोको उच्च जोखिम : स्थानीय त्रासमा, तत्काल उद्धार र नियन्त्रणका लागि पहल गर्न माग
नुवाकोट। नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका–३ सरामथली क्षेत्रमा गएको पहिरोका कारण स्थानीय बस्ती उच्च जोखिममा परेको छ। निरन्तरको वर्षापछि पहिरो सक्रिय बनेसँगै स्थानीयवासी दिनरात त्रासमा बस्न बाध्य भएका छन्।
स्थानीय अनिल थापाले तादी मिडियालाई दिएको जानकारीअनुसार, पहिरोका कारण घर तथा गाउँ नै उच्च जोखिममा परेका छन्। निरन्तर वर्षा भइरहेकाले जुनसुकै बेला ठूलो मानवीय तथा भौतिक क्षति हुन सक्ने अवस्था देखिएको छ। त्यसैले सम्बन्धित निकायले तत्काल जोखिम न्यूनीकरणका उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता रहेको उनले बताए।
उनका अनुसार, समुन्द्रटारतर्फ जाने गण्डेटे–गोल्फु–भन्ज्याङ सडक पनि पहिरोका कारण अवरुद्ध भएको छ। सडक खुलाउने क्रममा समेत थप पहिरो खस्ने सम्भावना रहेकाले सर्वसाधारणलाई अत्यन्त सावधानी अपनाउन आग्रह गरिएको छ।
स्थानीयवासीले दुप्चेश्वर गाउँपालिका, जिल्ला प्रशासन कार्यालय नुवाकोट, बागमती प्रदेश सरकार तथा नेपाल सरकारका सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै तत्काल स्थलगत निरीक्षण, जोखिम मूल्याङ्कन, पहिरो नियन्त्रण, सडक सञ्चालन, आवश्यक राहत तथा सुरक्षित व्यवस्थापनका लागि शीघ्र पहल गर्न माग गरेका छन्।
स्थानीय अनिल थापाले समयमै प्रभावकारी कदम नचालिए ठूलो मानवीय क्षति हुन सक्ने चेतावनी दिँदै जोखिममा परेका नागरिकको सुरक्षा, उद्धार, राहत तथा दीर्घकालीन पहिरो नियन्त्रणका लागि सम्बन्धित निकायले तत्काल आवश्यक कदम चाल्नुपर्ने बताएका छन्। साथै, उनले यो विषयलाई गम्भीर रूपमा लिएर सबै सरोकारवालाले समन्वयात्मक ढंगले काम गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
Home banner news सरामथलीमा पहिरोको उच्च जोखिम : स्थानीय त्रासमा, तत्काल उद्धार र नियन्त्रणका लागि...







