नुवाकोट,  /अधिवक्ता रामेश्वर भण्डारीले नुवाकोट–काठमाडौं जोड्ने बहुप्रतीक्षित छहरे–टोखा सुरुङमार्ग निर्माण योजना दुई दशक बितिसक्दा पनि अध्ययनकै चरणमा सीमित रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभएको छ।
उहाँले भन्नुभयो, “छहरे–टोखा सुरुङमार्गको अवधारणा आएको करिब २० वर्ष भइसक्यो, तर आजसम्म पनि योजना अध्ययन, सम्भाव्यता परीक्षण र प्रतिवेदनमै अल्झिएको छ। विकासका नाममा अध्ययनमात्र भइरहँदा नुवाकोटवासीले प्रत्यक्ष लाभ पाउन सकेका छैनन्।”
भण्डारीका अनुसार उक्त सुरुङमार्ग निर्माण भए नुवाकोट, रसुवा तथा चीनसँगको व्यापारिक नाका जोड्ने मार्ग छोटिने, यात्राको समय घट्ने, पर्यटन तथा आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने थियो। काठमाडौं प्रवेश गर्ने वैकल्पिक मार्गका रूपमा समेत यसको ठूलो महत्व रहेको उहाँको भनाइ छ।
उहाँले सरकारले राष्ट्रिय गौरव र रणनीतिक महत्वका परियोजनाहरूलाई अध्ययनभन्दा कार्यान्वयनमा केन्द्रित गर्नुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो, “जनताले प्रतिवेदन होइन, परिणाम खोजिरहेका छन्। हरेक सरकार परिवर्तनसँगै नयाँ अध्ययन गर्ने तर निर्माण प्रक्रिया अघि नबढाउने प्रवृत्तिले विकासलाई पछाडि धकेलेको छ।”
भण्डारीले छहरे–टोखा सुरुङमार्गलाई केवल नुवाकोटको मात्र नभई बागमती प्रदेश र समग्र देशकै आर्थिक विकाससँग जोडिएको परियोजनाका रूपमा हेर्नुपर्ने धारणा राख्नुभयो। उहाँले सम्बन्धित निकायहरूलाई अध्ययन प्रतिवेदनलाई शीघ्र कार्यान्वयनमा लैजान र निर्माण प्रक्रिया अगाडि बढाउन आग्रह गर्नुभएको छ।
“अब अध्ययनमाथि अध्ययन होइन, निर्माणको थालनी आवश्यक छ,” उहाँले भन्नुभयो। “२० वर्षदेखि प्रतिक्षारत जनताले अब वास्तविक प्रगति देख्न पाउनुपर्छ।”

LEAVE A REPLY