गाउँपालिकामा बाल विवाह अन्त्यका लागि विद्यालयस्तरीय सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
तादी, नुवाकोट । तादी गाउँपालिका उपाध्यक्ष तथा बाल विवाह अन्त्य अभियानकी संयोजक पालिका उपाध्यक्ष सन्जु प्याकुरेल को अध्यक्षतामा बाल विवाह अन्त्यका लागि समुदायमा परिचालन कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयमा सचेतना तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम अन्तर्गत तादी गाउँपालिका वडा नं. १ उर्लेनीस्थित श्री सुन्दरा माध्यमिक विद्यालय र श्री मंगलेश्वरी आधारभूत विद्यालय तथा वडा नं. ६ चामोटस्थित विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको उल्लेख्य सहभागितामा बाल विवाहका असर, कानुनी व्यवस्था, बाल अधिकार तथा किशोर–किशोरीको भूमिका सम्बन्धी अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा उपाध्यक्ष प्याकुरेलले बाल विवाह समाजको गम्भीर सामाजिक समस्या भएको उल्लेख गर्दै यसको अन्त्यका लागि विद्यालय, अभिभावक, समुदाय तथा स्थानीय सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। उहाँले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा तथा उज्ज्वल भविष्य सुनिश्चित गर्न बाल विवाहविरुद्ध सबै सचेत र सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।
सहभागी विद्यार्थीहरूले बाल विवाहका कारण हुने शारीरिक, मानसिक, सामाजिक तथा शैक्षिक असरबारे जानकारी प्राप्त गर्नुका साथै आफ्ना जिज्ञासा र अनुभवहरू समेत राखेका थिए। कार्यक्रममा बाल विवाह रोकथाममा विद्यार्थी स्वयंको भूमिका, कानुनी प्रावधान तथा समुदायस्तरमा गर्न सकिने पहलका विषयमा समेत छलफल गरिएको थियो।
तादी गाउँपालिकाले बाल विवाहमुक्त समाज निर्माण गर्ने लक्ष्यका साथ विद्यालय तथा समुदायस्तरमा निरन्तर सचेतना, अन्तरक्रिया र समुदाय परिचालनका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। उक्त कार्यक्रमले विद्यार्थीहरूमा बाल विवाहप्रति सचेतना अभिवृद्धि गर्नुका साथै यसको अन्त्यका लागि सकारात्मक सन्देश प्रवाह गरेको विश्वास लिइएको छ।

LEAVE A REPLY