डाँडाकाँडामा मोबाइल नेटवर्क नै नटिप्ने नुवाकोटलाई ‘डिजिटल विकास’को भाषण मात्र : अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट ।
अधिवक्ता रामेश्वर भण्डारीले नुवाकोटका धेरै ग्रामीण तथा डाँडाकाँडाका क्षेत्रमा अहिले पनि मोबाइल नेटवर्क र इन्टरनेट सेवा प्रभावकारी रूपमा नपुगेको भन्दै विकासका नाममा केवल भाषण मात्र भइरहेको बताएका छन् ।
उनले “डिजिटल नेपाल”, “स्मार्ट सेवा” र “प्रविधिमैत्री विकास”का नाराहरू सुनिए पनि नुवाकोटका धेरै बस्तीमा सामान्य फोन गर्नसमेत समस्या हुने अवस्था रहेको उल्लेख गरे ।
भण्डारीले गाउँगाउँमा नेटवर्क नपुग्दा विद्यार्थीको अनलाइन अध्ययन, नागरिकको सूचना पहुँच, आपतकालीन सेवा तथा सरकारी सेवा प्रवाहसमेत प्रभावित भइरहेको बताए ।
“अहिलेसम्म नुवाकोटका डाँडाकाँडामा राम्रोसँग मोबाइल नेटवर्क टिप्दैन, अनि हल्ला चाहिँ डिजिटल विकासको गरिन्छ । वास्तविक विकास भाषणले होइन, नागरिकले अनुभूति गर्ने सेवाले देखिनुपर्छ,” उनले भने ।
उनले राज्यले दुर्गम क्षेत्रलाई प्राथमिकतामा राखेर दूरसञ्चार सेवा विस्तार, गुणस्तरीय इन्टरनेट पहुँच र डिजिटल पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने धारणा व्यक्त गरे ।
साथै उनले विकासका नाममा केवल प्रचारमुखी कार्यक्रमभन्दा आधारभूत सेवामा लगानी गर्न आवश्यक रहेको बताए ।
Home banner news डाँडाकाँडामा मोबाइल नेटवर्क नै नटिप्ने नुवाकोटलाई ‘डिजिटल विकास’को भाषण मात्र : अधिवक्ता...











