रातमाटेबाट सुरु भयो एमसिए नेपालको २९७ किलोमिटर प्रसारण लाइन तथा दुई सबस्टेशन निर्माण
नुवाकोट,  / एमसिए नेपालले नेपालको विद्युत प्रसारण प्रणाली सुदृढीकरण तथा क्षेत्रीय ऊर्जा व्यापार विस्तार गर्ने उद्देश्यले दुईवटा नयाँ सबस्टेशन र २९७ किलोमिटर लामो विद्युत प्रसारण लाइन निर्माण कार्य औपचारिक रूपमा सुरु गरेको छ।
नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित रातमाटेमा बुधबार आयोजित कार्यक्रममा अर्थ सचिव तथा एमसिए नेपाल सञ्चालक समिति अध्यक्ष डा. घनश्याम उपाध्याय ले परियोजनाको शिलान्यास गरेका हुन्।
परियोजना अन्तर्गत लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा, रातमाटे–न्यू दमौली तथा न्यू दमौली–न्यू बुटवल प्रसारण लाइन खण्डको निर्माण गरिनेछ। साथै रातमाटे सबस्टेशन र न्यू दमौली सबस्टेशन को समेत शिलान्यास गरिएको छ।
एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रमअन्तर्गत सञ्चालन हुने विद्युत प्रसारण आयोजनामा तीनवटा उच्च क्षमतायुक्त ४०० केभी सबस्टेशन तथा करिब ३१५ किलोमिटर प्रसारण लाइन निर्माण गरिने लक्ष्य रहेको छ। हाल पहिलो चरणमा २९७ किलोमिटर प्रसारण लाइन र दुई सबस्टेशनको निर्माण प्रक्रिया अघि बढाइएको एमसिए नेपालले जनाएको छ।
उक्त आयोजना संयुक्त राज्य अमेरिका र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण हुन लागेको हो। परियोजनाका लागि अमेरिकाबाट प्राप्त ५५ करोड अमेरिकी डलर अनुदान तथा नेपाल सरकारको १९ करोड ७० लाख अमेरिकी डलर बराबरको लगानी रहेको छ। एमसिए नेपालले विद्युत प्रसारण लाइन निर्माणसँगै सडक मर्मत तथा स्तरोन्नतिको कार्यसमेत अघि बढाइरहेको जनाएको छ।
शिलान्यास कार्यक्रममा नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बम, एमसिसीका आवासीय राष्ट्रिय निर्देशक डायन फ्रान्सिस्को, नेपाल विद्युत प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ, एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट लगायतका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा वक्ताहरूले आयोजना सम्पन्न भएपछि नेपालको विद्युत प्रसारण क्षमता अभिवृद्धि हुने, आन्तरिक विद्युत आपूर्ति थप भरपर्दो बन्ने तथा दक्षिण एशियाली क्षेत्रीय ऊर्जा व्यापार विस्तारमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए।

LEAVE A REPLY