नुवाकोट, जेठ २७ — नेपाल ग्रीन तारा फाउन्डेसनको आर्थिक सहयोग तथा तादी गाउँपालिकाको समन्वयमा निर्माण सम्पन्न भएको सामुदायिक स्वास्थ्य इकाइ भवनको उद्घाटन तथा हस्तान्तरण समारोह तादी गाउँपालिका वडा नं. ६ मा भव्य एवं गरिमामय रूपमा सम्पन्न भएको छ।
कार्यक्रमको सभाध्यक्षता तादी गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष सिरिमान तामाङले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा प्रदेश सभा सदस्य राधिका तामाङको उपस्थिति रहेको थियो। विशेष अतिथिका रूपमा तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङ तथा विशिष्ट अतिथिका रूपमा उपाध्यक्ष सन्जु प्याकुरेल श्रेष्ठ सहभागी हुनुभएको थियो।
कार्यक्रममा नेपाल ग्रीन तारा फाउन्डेसनका अध्यक्ष बन्दी निमा शेर्पा, संरक्षक तथा संस्थापक तासी तेन्जिङ शेर्पा, महासचिव रविन सर, अच्युत सर, चन्दी चौधरी लगायत फाउन्डेसनका पदाधिकारी तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
त्यसैगरी राजनीतिक दलहरूको तर्फबाट नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का संयोजक तथा प्रदेश सभा सदस्य रोशन श्रेष्ठ, पूर्व गाउँपालिका अध्यक्ष नारायणप्रसाद पाण्डे, पूर्व गाउँपालिका उपाध्यक्ष ईश्वर उप्रेती लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय अगुवाहरूको समेत गरिमामय उपस्थिति रहेको थियो।
कार्यक्रममा तादी गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्ष, वडा सदस्य, जनप्रतिनिधि, समाजसेवी, बुद्धिजीवी, शिक्षक–शिक्षिका, विद्यार्थी तथा स्थानीय बासिन्दाहरूको उत्साहजनक सहभागिता रहेको थियो।
स्थानीय नागरिकलाई आधारभूत तथा गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले निर्माण गरिएको उक्त सामुदायिक स्वास्थ्य इकाइ भवनको उद्घाटन तथा हस्तान्तरण कार्यक्रम अतिथि, जनप्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थितिबीच सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ।
कार्यक्रममा वक्ताहरूले स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्न सामुदायिक स्वास्थ्य इकाइको महत्वपूर्ण भूमिका रहने बताउँदै यसले तादी गाउँपालिका वडा नं. ६ लगायत आसपासका क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गरेका थिए।
समारोहमा नेपाल ग्रीन तारा फाउन्डेसनप्रति भवन निर्माणका लागि हार्दिक आभार व्यक्त गरिएको थियो। साथै कार्यक्रमको सफलताका लागि सहयोग, समन्वय तथा सहभागिता जनाउने सम्पूर्ण व्यक्ति तथा संस्थाहरूप्रति धन्यवाद ज्ञापन गरिएको थियो।
नवनिर्मित स्वास्थ्य इकाइले स्थानीयस्तरमा स्वास्थ्य सेवा सुदृढ गर्दै समग्र स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।














