नुवाकोटेहरू अब केरा खेतीबाट आत्मनिर्भर मात्र होइन, आम्दानीमुखी बन्नुपर्छ : अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट,  / अधिवक्ता रामेश्वर भण्डारीले नुवाकोटमा व्यावसायिक केरा खेतीको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै स्थानीय कृषकहरूलाई केरा खेतीमार्फत आत्मनिर्भर मात्र नभई राम्रो आम्दानी गर्न सकिने बताएका छन्।
भण्डारीले नुवाकोटका विभिन्न स्थानमा केरा खेतीका लागि उपयुक्त हावापानी, उर्वर भूमि र बजारको पहुँच रहेको उल्लेख गर्दै युवाहरूलाई वैदेशिक रोजगारीको विकल्पका रूपमा कृषि व्यवसायमा आकर्षित हुन आग्रह गरे। उनले भने, “हामी नुवाकोटेहरू अब केरा खेतीबाट आत्मनिर्भर मात्र होइन, केराबाट राम्रो आम्दानी गर्नुपर्छ। आधुनिक प्रविधि, वैज्ञानिक खेती प्रणाली र बजार व्यवस्थापनमा ध्यान दिन सके केरा खेती आर्थिक समृद्धिको बलियो आधार बन्न सक्छ।”
उनका अनुसार नेपालमा वार्षिक रूपमा ठूलो परिमाणमा केरा आयात भइरहेको अवस्थामा स्थानीय उत्पादन वृद्धि गर्न सके आयात प्रतिस्थापनसँगै कृषकको आयस्तर पनि बढाउन सकिन्छ। उनले कृषि क्षेत्रमा राज्यले आवश्यक प्राविधिक सहयोग, सिँचाइ सुविधा, अनुदान तथा बजार व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने बताए।
भण्डारीले नुवाकोटका कृषकहरूलाई व्यावसायिक तथा सामूहिक खेतीतर्फ अग्रसर हुन सुझाव दिँदै कृषि उत्पादन, प्रशोधन र बजारीकरणलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरे। उनले कृषि नै नेपालको आर्थिक विकास र रोजगारी सिर्जनाको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै केरा खेतीलाई नुवाकोटको पहिचान र समृद्धिसँग जोड्नुपर्नेमा जोड दिए।
स्थानीय कृषकहरूले समेत केरा खेतीबाट राम्रो आम्दानी हुन थालेपछि यसतर्फ आकर्षण बढ्दै गएको बताएका छन्। कृषिसम्बन्धी विज्ञहरूका अनुसार उचित व्यवस्थापन र आधुनिक प्रविधिको प्रयोग गर्न सके नुवाकोटमा केरा खेतीले ठूलो आर्थिक सम्भावना बोकेको छ।

LEAVE A REPLY