
नुवाकोट— नुवाकोटको दीर्घकालीन विकास मोडेल निर्माणको उद्देश्यका साथ नुवाकोट निवासी बौद्धिक व्यक्तित्व तथा इमानदार राजनीतिक नेता केशव पुडासैनी (बिमल) ज्यूसँग एक महत्वपूर्ण विचार–विमर्श सम्पन्न गरिएको छ। नुवाकोटको समग्र विकास, सम्भावित क्षेत्र पहिचान र दीर्घकालीन रणनीतिमा केन्द्रित उक्त छलफल नुवाकोटकै अभियन्ता तथा सामाजिक रूपान्तरणमा सक्रिय व्यक्तित्वहरू राजन गौतम (नकुल), अधिवक्ता रामेश्वर भण्डारी र राजु राई सहितको उपस्थितिमा सम्पन्न भएको हो।
कार्यक्रममा सहभागीहरूले नुवाकोटको भौगोलिक, सांस्कृतिक र आर्थिक विशिष्टताका आधारमा बनाइने विकास मोडेल कस्तो हुन सक्दछ भन्ने विषयमा व्यापक रूपमा बहस गरे। नुवाकोट केवल ऐतिहासिक र सांस्कृतिक दृष्टिले मात्र महत्वपूर्ण नभई जलस्रोत, कृषि, पर्यटन, ऊर्जा र पूर्वाधार विकासका सम्भावनाले भरिपूर्ण जिल्ला भएको निष्कर्ष प्रस्तुत गरियो।
छलफलका क्रममा नुवाकोटको विकासका पाँच आधार स्तम्भ पहिचान गरिएको बताइयो—
क) कृषि व्यवसायिकरण र सहकारी मोडल,
ख) जलस्रोतको व्यवस्थित उपयोग,
३) पर्यटनको प्रवर्द्धन एवं सांस्कृतिक सम्पदाको संरक्षण,
४) शिक्षा, स्वास्थ्य र स्थानीय रोजगारी सिर्जना,
५) पूर्वाधार तथा सूचना प्रविधिको विस्तार।
केशव पुडासैनी (बिमल) ले नुवाकोटको विकासलाई राजनीतिक नारा होइन, व्यवहारिक योजनासँग जोडिनुपर्ने आवश्यकतामा जोड दिए। उनले भने, “विकासको मुख्य आधार स्थानीय स्रोतको पहिचान र स्थानीय तहबाटै शुरु हुने पहल हो। नुवाकोटलाई मोडेल जिल्ला बनाउन हामीसँग पर्याप्त स्रोत, क्षमता र जनशक्ति छ।” उनका अनुसार विकासका नीति तथा योजनाहरू कागजमा सीमित नभई व्यवहारमा कार्यान्वयन गर्न सकिने मोडेल आवश्यक छ।
अभियन्ता राजन गौतम (नकुल) ले विकासको आधार कृषि र पर्यटन हुनु पर्ने भन्दै नुवाकोटलाई जैविक कृषि, फलफूल उत्पादन, भैँसी तथा बाख्रापालन जस्ता व्यवसायमा आत्मनिर्भर बनाउन सकिने धारणा राखे। अधिवक्ता रामेश्वर भण्डारीले प्रभावकारी विकासका लागि जनतासँग सहकार्य र पारदर्शी प्रक्रिया अनिवार्य रहेको उल्लेख गर्दै योजनाहरू जनतामैत्री र सहभागितामूलक हुनुपर्ने बताए। त्यस्तै, राजु राईले युवा क्षमताको उपयोग, प्रविधिको प्रयोग र स्थानीय उद्यमशीलताका लागि तालिम तथा प्रोत्साहन आवश्यक रहेको बताए।
छलफलमा सहभागीहरूले नुवाकोटलाई ‘सम्पदा, पर्यटन, कृषि र ऊर्जा’ मा आधारित बहु–क्षेत्रीय विकास मोडेल लागू गर्न सके केही वर्षमै आर्थिक रूपमा परिवर्तन गर्न सकिने निष्कर्ष प्रस्तुत गरे। साथै, विकासको लागि दीर्घकालीन रणनीति तयार गरी नीति निर्माण तहमा यसलाई प्रस्तुत गर्ने योजना समेत तय गरिएको छ।











