काठमाडौ /
सचेत नागरिक अभियान नेपाल र नुवाकोट विकास मोडलका अभियन्ताहरूको संयुक्त उपस्थितिमा नुवाकोटका १२ वटै स्थानीय तहमा गुठीसम्बन्धी वर्षौँदेखिका विवाद, समस्या र नागरिकले भोग्दै आएका पीडाको समग्र तस्वीर सहितको ज्ञापनपत्र गुठी संस्थानका प्रमुख शैलेश राज कुँवरसमक्ष सोमबार बुझाइएको छ।
गुठी जग्गामा बसोबास गर्दै आएका स्थानीयको दीर्घकालीन समस्या, अभिलेखीय स्पष्टता अभाव, दर्ता–नवीकरणका सास्ती, कर–राजस्वका झन्झटदेखि लिएर अधिकारको सुनिश्चिततासम्मका मुद्दालाई प्राथमिकताका साथ सम्बोधन गर्न आग्रह गरिएको ज्ञापनपत्रमा उल्लेख छ।
ज्ञापनपत्र बुझाउने टोलीमा सचेत नागरिक अभियान नेपालका राष्ट्रिय अध्यक्ष अधिवक्ता रामेश्वर भण्डारी, नुवाकोट विकास मोडलका अभियन्ता राजन गौतम, (नकुल ), चन्द्र प्रसाद पौडेल, रजमान तामाङ, राजु राई, दिनेश लामिछाने लगायत सक्रिय प्रस्तुत भएका थिए।
अभियन्ताहरूले गुठी समस्याले नुवाकोटका हजारौँ
नागरिकको दैनन्दिन जीवनमा परेको असर स्मरण गराउँदै, राज्यका संरचना र स्थानीय तहबीच सहकार्यमा आधारित “दीगो र न्यायोचित समाधान” खोजिनुपर्ने आवश्यकता जोडदार रूपमा राखे।
गुठी संस्थानका प्रमुख कुँवरले ज्ञापनपत्र ग्रहण गर्दै उठाइएका मुद्दाहरू सम्बन्धित निकायसँग समन्वय गरी अध्ययन–विश्लेषणका साथ अघि बढाइने प्रारम्भिक प्रतिक्रिया दिएका थिए।
नुवाकोटका नागरिकको दीर्घकालीन अधिकार सुरक्षित गर्ने यी आवाज अब संस्थागत चरणमा प्रवेश गरेका छन्, र स्थानीय बासिन्दामा सकारात्मक अपेक्षा थप उक्लिएको देखिन्छ।











