
काठमाडौं । देशको राजनीतिक तथा संस्थागत अवस्थाबारे बढ्दो चिन्ताबीच सचेत नागरिक अभियान नेपालले न्याय, लोकतन्त्र र मानवअधिकारको रक्षा गर्न सबै नागरिकसँग एकजुट हुन अपिल गरेको छ। अभियानका अध्यक्ष अधिवक्ता रामेश्वर भण्डारीले एक सार्वजनिक अपिल जारी गर्दै देश संवैधानिक अस्थिरता र संस्थागत कमजोरितर्फ धकेलिन खोजिएको संवेदनशील अवस्थामा नागरिक चेतना अत्यावश्यक रहेको बताएका छन्।
भण्डारीका अनुसार मुलुक पछिल्ला दिनमा यस्तो मोडमा पुगेको छ जहाँ स्वतन्त्र न्यायपालिकामाथि दबाब, नागरिक आवाज दबाउने प्रयास र अधिकार हननका संकेतहरू स्पष्ट रूपमा देखिन थालेका छन्। “यो देश हाम्रो साझा घर हो। यसको रक्षा गर्नु प्रत्येक नेपालीको कर्तव्य हो,” अपिलमा उल्लेख छ, “मौनता अन्यायको साथ हो, त्यसैले अब प्रत्येक नागरिकले सत्यका पक्षमा बोल्न जरुरी छ।”
अभियानले कुनै दल, नेता वा राजनीतिक ध्रुवीकरणको पक्षमा नभई देश, संविधान र लोकतान्त्रिक मूल्यको संरक्षण नै आफ्नो मूल उद्देश्य भएको स्पष्ट पारेको छ। भण्डारीले भ्रष्टाचार, अन्याय, असमानता र विभाजनकारी राजनीति देशका प्रमुख चुनौती भएको उल्लेख गर्दै यी समस्याविरुद्ध एकजुट नागरिक दबाब प्रभावकारी समाधानको आधार बन्ने बताए।
अपिलमा विशेषगरी युवापुस्तालाई अग्रणी भूमिका निर्वाह गर्न आह्वान गरिएको छ। देशको रुपान्तरण, सुशासन र पारदर्शी प्रणाली निर्माणमा युवाको मात्रै आवाज निर्णायक हुनसक्ने अभियानको तर्क छ। भण्डारीले युवालाई “तपाईंहरूको कलम, सोच र आवाज नै परिवर्तनको शक्ति हो” भन्दै लोकतान्त्रिक मूल्य र सत्यको पक्षमा उभिन आग्रह गरेका छन्।
सचेत नागरिक अभियानले नागरिक जागरणलाई शान्तिपूर्ण, तथ्यपूर्ण र जिम्मेवार तरिकाले अघि बढाउने बताउँदै हिंसा होइन, सचेतता बाट नयाँ नेपालको मार्ग खोज्नुपर्नेमा जोड दिएको छ। अपिलमा भनिएको छ, “हामी मौन रहने छैनौं, देशका पक्षमा बोल्छौं। नागरिक चेतनाको प्रकाशले मात्र अन्धकारलाई पराजित गर्न सक्छ।”
अध्यक्ष भण्डारीले मुलुकका प्रत्येक नागरिकलाई एकजुट भएर संविधानको सम्मान, स्वतन्त्र न्यायपालिकाको रक्षा र नागरिक अधिकारको सुरक्षा गर्नुपर्ने उल्लेख गर्दै सचेत नागरिक अभियान नेपाल यस अभियानको नेतृत्व गर्न तयार रहेको बताए।
अपिलको अन्त्यमा उनले भनेका छन्, “गाउँदेखि शहरसम्म, हरेक नेपाली एक ठाउँमा उभिनुपर्छ। देश संकटमा हुँदा नागरिक मौन बस्न मिल्दैन। हातमा हात, आवाजमा आवाज मिलाएर सशक्त नागरिक समाज निर्माण गर्दै अघि बढौं।”
सचेत नागरिक अभियान नेपालका अनुसार आगामी दिनमा देशव्यापी नागरिक संवाद, सचेतना कार्यक्रम र सार्वजनिक छलफलमार्फत लोकतन्त्र सुदृढीकरणका गतिविधि थप सशक्त रूपमा सञ्चालन गरिने जनाइएको छ।











