
पन्चकन्या १ नुवाकोट / श्री इन्द्रायणी माध्यमिक विद्यालयको ३७ औँ वार्षिकोत्सव तथा वार्षिक उत्सव कार्यक्रम २०८२ मंसिर १५ गते विविध शैक्षिक, सांस्कृतिक र प्राविधिक प्रस्तुतिसहित भव्य रूपमा सम्पन्न भयो। विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष उत्तम पाठकको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ प्रमुख अतिथिको रूपमा उपस्थित थिए। सो अवसरमा उपाध्यक्ष बिमला पाठक केसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राई तथा वडा अध्यक्ष मान्धर ढकाल विशेष अतिथिका रूपमा सहभागी रहे।
कार्यक्रम स्थानीय कलाकार अर्जुन भुसाल र सविता ढुंगानाका आकर्षक प्रस्तुतीबाट झनै माहोलमय बनेको थियो। स्थानीय बासिन्दा, अभिभावक, पूर्वविद्यार्थी तथा सरोकारवालाहरूको बाक्लो उपस्थिति कार्यक्रमको सफलतामा महत्वपूर्ण रह्यो।
वार्षिकोत्सवअन्तर्गत आयोजित विज्ञान तथा कृषि प्रविधि प्रदर्शनी विद्यार्थीहरूको सिर्जनात्मकता, सीप र नयाँ सोचको उत्कृष्ट उदाहरणका रूपमा प्रस्तुत भयो। साथै, विद्यार्थी तथा शिक्षकहरूका कला, नृत्य, गीत–संगीत र विभिन्न प्रतिभा प्रदर्शनहरूले कार्यक्रमलाई अझ समृद्ध बनायो।
कार्यक्रममा प्रधानाध्यापक कुमार पाठकले विद्यालयको वार्षिक गतिविधि, शैक्षिक प्रगति, चुनौती र उपलब्धिहरूका साथै आय–व्ययको विस्तृत प्रतिवेदन प्रस्तुत गरे। विद्यालयको दीर्घकालीन आवश्यकता पूरा गर्ने उद्देश्यसहित सञ्चालन गरिएको जग्गा खरिद चन्दा अभियानमा सहयोग पुर्याउने व्यक्तिहरूलाई कार्यक्रमकै दौरानमा सम्मान गरिएको थियो।

सोही अवसरमा पञ्चकन्या र लिखु क्षेत्रका प्रधानाध्यापक तथा शिक्षकहरूको सहभागिता उल्लेखनीय रह्यो, जसले कार्यक्रमलाई अन्तर–विद्यालयीय मेलमिलाप र सहकार्यको उदाहरण बनायो। वार्षिक गतिविधिमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र र पुरस्कारसहित सम्मान गर्दै कार्यक्रममा समापन गरिएको थियो।
विद्यालय प्रशासनले यस्ता कार्यक्रमले विद्यार्थीको नेतृत्व क्षमता, प्रतिभा र व्यवहारिक सीपलाई विकसित गर्न सहयोग गर्ने बताउँदै आगामी वर्षहरूमा अझ गुणस्तरीय शैक्षिक वातावरण निर्माण गर्न प्रतिबद्धता व्यक्त गर्यो।












