
काठमाडौँ । ऊर्जा तथा जलस्रोत मन्त्री कुलमान घिसिङले भ्रष्टाचार अन्त्य भए मात्रै देश द्रुतगतिमा समृद्धिको दिशामा अघि बढ्न सक्ने बताएका छन्। राजधानीमा आयोजित ‘उज्यालो नेपाल पार्टी’को औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विकासका सबै प्रयासहरू भ्रष्टाचारले जकडिने भएकाले पारदर्शिता र उत्तरदायित्वलाई राष्ट्र निर्माणको मुख्य आधार बनाउनु पर्नेमा जोड दिए।
मन्त्री घिसिङले राज्यका सबै संरचनामा आर्थिक अनियमितता, ढिलासुस्ती र कमीशनकारी प्रवृत्ति कायम रहेसम्म जनताले अनुभूतिमा आधारित सेवा पाउन नसक्ने उल्लेख गरे। “भ्रष्टाचार हटे देश आफैँ समृद्धितर्फ दौडिन्छ। हाम्रो ऊर्जा, पूर्वाधार र प्राविधिक क्षमताले नेपाललाई उभ्याउने सामर्थ्य ठूलो छ, तर समस्या प्रणालीमै रहेको भ्रष्ट मानसिकता हो,” उनले भने।
उनले उज्यालो नेपाल पार्टीले उठाउँदै आएको सुशासन, पारदर्शिता र सेवा–सुविधाको गुणस्तर सुधार गर्ने एजेन्डा राष्ट्रको आवश्यकता अनुसार रहेको टिप्पणी गरे। घिसिङले ऊर्जा क्षेत्रको अनुभवलाई स्मरण गर्दै योजनाहरू समयमै, गुणस्तरीय र जनउत्तरदायी ढंगले कार्यान्वयन भए नेपाल बतासिएर अघि बढ्न सक्ने उदाहरण प्रस्तुत गरे।
कार्यक्रममा वक्ताहरूले देश विकासमा इमानदार नेतृत्व, दीर्घकालीन योजना र संस्थागत सुधार अपरिहार्य रहेको निष्कर्ष समेत प्रस्तुत गरे।











