
नुवाकोट — आधुनिक नेपालको निर्माता राजा पृथ्वीनारायण शाहको देबिघाटस्थित समाधीस्थल र आसपासका महत्वपूर्ण ऐतिहासिक संरचनाहरु बेवास्ता र उपेक्षामा परिरहेका छन्। त्रिशुली–तादी नदीको संगमस्थल देबिघाट, साततले दरबार र शेरा दरबार जस्ता नेपाली इतिहासका महत्वपूर्ण सम्पदाको संरक्षणमा राज्यले पर्याप्त ध्यान नदिएको भन्दै स्थानीय तथा इतिहासप्रेमीहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्।
भारतको राजघाटमा महात्मा गान्धीको अन्त्येष्टि र स्मारकलाई विश्वस्तरमा संरक्षण गरिएको उदाहरण प्रस्तुत गर्दै उनीहरूले “आधुनिक नेपालको निर्माता” पृथ्वीनारायण शाहको समाधीस्थल भने बेवारिसे बन्दै गएको आलोचना गरेका छन्। १९४८ मा गान्धीको अन्त्येष्टि स्थललाई व्यवस्थित रूपमा विश्वमान्य स्मारक बनाइएको उल्लेख गर्दै नेपाल भ्रमणमा आउने उच्च अधिकारीहरू गान्धीलाई श्रद्धाञ्जली दिन अनिवार्य रूपमा राजघाट पुग्ने प्रचलन बस्न सफल भए पनि, नेपालमा भने यस्ता ऐतिहासिक धरोहरको सम्मान गर्ने संस्कृति नबनेको उनीहरूको गुनासो छ।
इतिहासविद्हरूका अनुसार नेपाल–तिब्बत युद्धपछिको बेत्रावती सन्धी स्थल, बेत्रावती ढुङ्गा, साततले दरबार, शेरा दरबार र देबिघाटको समाधीक्षेत्रको एकीकृत संरक्षण र विकास नगरे इतिहासकै महत्वपूर्ण पक्ष हराउने खतरा बढ्दो छ। “राष्ट्रनिर्माताको समाधी गुमनाम हुनु राष्ट्रकै अस्मिता कमजोर पार्ने विषय हो,” एक अभियन्ताले भने।
स्थानीयबासीले सरकार र सम्बन्धित निकायलाई देबिघाट–बेत्रावती क्षेत्रलाई व्यवस्थित संरक्षण गरी राष्ट्रिय गौरवको परियोजना सरह विकास गर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार पर्यटन, इतिहास र राष्ट्रिय पहिचानका दृष्टिले यो क्षेत्र अत्यन्त संवेदनशील र सम्भावनायुक्त छ।
सञ्चालन योग्य योजना, संरचनागत विकास र व्यवस्थित संरक्षणमार्फत देबिघाट क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भ्रमणकर्ताले अवश्य पुग्नुपर्ने ऐतिहासिक गन्तव्यका रूपमा विकास गर्न सकिने सरोकारवालाहरूको भनाइ छ।











