नुवाकोट । बामपन्थी नेता, पूर्व सांसद तथा शिक्षाप्रेमी स्वर्गीय गणेश पण्डितको पूर्णकद प्रतिमा अनावरण कार्यक्रम यही पौष १२ गते दुप्चेश्वर गाउँपालिका–स्थित गोगनचौरमा हुने भएको छ।
दुप्चेश्वर गाउँपालिकाको संयोजनमा आयोजना हुन लागेको उक्त कार्यक्रम पूर्व पर्यटन मन्त्री माननीय हितबहादुर तामाङज्यूको प्रमुख आतिथ्यतामा बिहान १०:३० बजेदेखि सुरु हुने आयोजकले जनाएको छ। कार्यक्रम गणेश पण्डित स्मृति केन्द्र परिसरमा आयोजना गरिनेछ।
कार्यक्रममा जिल्लाका सबै राजनीतिक दलका प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, प्रशासनिक क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, नागरिक समाज, संघ–संस्थाका प्रतिनिधि, बौद्धिक वर्ग, शिक्षक, विद्यार्थी, महिला तथा आम नागरिकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।
राजनीति र शिक्षाको क्षेत्रमा स्व. पण्डितले पुर्‍याउनुभएको योगदानको सम्मान स्वरूप प्रतिमा स्थापना गर्न लागिएको आयोजक पक्षको भनाइ छ। कार्यक्रममा उपस्थित भई स्व. पण्डितप्रति श्रद्धाञ्जली अर्पण गर्न सबैमा आयोजकले आग्रह गरेको छ।

LEAVE A REPLY