
दुप्चेश्वर गाउँपालिकाको समन्वयमा रुडेक नेपालद्वारा आयोजना गरिएको धामी–झाकृ लक्षित स्वास्थ्यसम्बन्धी दुईदिने तालिम सफलतापूर्वक सम्पन्न भएको छ। उक्त तालिम गुडनेइवर्स इन्टरनेसनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सञ्चालन गरिएको हो।
२०८२ साल मंसिर ५ र ६ गते सञ्चालन भएको तालिममा गाउँपालिकाभित्र कार्यरत धामी–झाकृहरूको सक्रिय सहभागिता रहेको थियो। तालिमको उद्देश्य परम्परागत उपचार पद्धतिमा संलग्न धामी–झाकृहरूलाई आधारभूत स्वास्थ्य ज्ञान, सुरक्षित अभ्यास तथा आवश्यक अवस्थामा स्वास्थ्य संस्थामा रिफर गर्ने विषयमा सचेत गराउनु रहेको थियो।
तालिम समापन कार्यक्रममा दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्षले परम्परागत विश्वास र आधुनिक स्वास्थ्य सेवाबीच समन्वय आवश्यक रहेको उल्लेख गर्दै यस्ता तालिमले समुदायको स्वास्थ्य सुधारमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रम आयोजक संस्थाहरूले भविष्यमा पनि समुदायस्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।











