दलभन्दा जनता पहिलो भन्ने मूल नारासहित अधिवक्ता रामेश्वर भण्डारीको चुनावी अभियान तीव्र
नुवाकोट — नुवाकोट निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका अधिवक्ता रामेश्वर भण्डारीले “दलभन्दा जनता पहिलो” भन्ने स्पष्ट सन्देशसहित आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन्।
चुनावी प्रचारप्रसारका क्रममा क्याप चुनाव चिन्हलाई प्रमुख पहिचान बनाउँदै मतदातासमक्ष पुगिरहेका भण्डारीले सुशासन, कानुनी राज्य र भ्रष्टाचारमुक्त समाज निर्माणलाई आफ्नो मुख्य एजेन्डा बनाएका छन्। उनले नुवाकोटको समग्र विकास, जनजीविका सुधार र सामाजिक न्यायलाई केन्द्रमा राखेर राजनीति गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्वतन्त्र उम्मेदवार भण्डारीले भने,
“म कुनै दलको आदेशमा होइन, नुवाकोट–१ का जनताको चाहना र आवश्यकताअनुसार संसदमा आवाज उठाउनेछु। दलगत स्वार्थभन्दा माथि उठेर जनताको हितमा काम गर्नु नै मेरो उद्देश्य हो।”
उनले आगामी २०८२ फागुनमा हुने निर्वाचनलाई लोक–कल्याणकारी राज्य निर्माणतर्फको अवसरका रूपमा लिन मतदातालाई आग्रह गर्दै क्याप चुनाव चिन्हमा मतदान गर्न अपिल गरे।
“नुवाकोटको विकास अब हाम्रो पालामा हुनुपर्छ। सचेत मतदाताले क्याप चिन्हमा मतदान गरेर स्वतन्त्र आवाजलाई बलियो बनाउनुहुनेछ भन्ने विश्वास लिएको छु,” भण्डारीले थपे।
स्थानीय स्तरमा सकारात्मक प्रतिक्रिया पाइरहेको बताइँदै आएको उनको अभियानले नुवाकोटमा स्वतन्त्र र वैकल्पिक राजनीतिक धारप्रति बढ्दो आकर्षण देखाएको छ।
Home banner news दलभन्दा जनता पहिलो भन्ने मूल नारासहित अधिवक्ता रामेश्वर भण्डारीको चुनावी अभियान तीव्र











