नुवाकोटका कृषिभूमिलाई कृषिमै विकास गर्नुपर्छ : अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट । नुवाकोट जिल्लाका उर्वर कृषिभूमिलाई अन्य प्रयोजनमा प्रयोग गर्नुभन्दा कृषिमै संरक्षण र विकास गर्नुपर्ने आवश्यकता रहेको अधिवक्ता रामेश्वर भण्डारीले बताएका छन्। जिल्लाको दीर्घकालीन समृद्धि कृषि क्षेत्रसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै उनले कृषिभूमि मासिँदै जानु चिन्ताजनक विषय भएको बताए।
अधिवक्ता भण्डारीले तादी, लिखु, थान्सिङ, सेराफाँट, चौघडा फाँट, सिमराफाँट लगायतका उपजाउ फाँटहरू नुवाकोटको पहिचान र सम्भावना भएको उल्लेख गरे। यस्ता कृषिभूमि जोगाएर आधुनिक कृषि प्रविधि, सिंचाइ सुविधा र किसानमैत्री नीति लागू गर्न सके जिल्लामा रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने उनको भनाइ थियो।
उनले अव्यवस्थित सडक, कोरिडोर तथा भौतिक पूर्वाधार निर्माणका नाममा कृषिभूमि अन्धाधुन्ध नष्ट गर्नु दीर्घकालीन रूपमा घातक हुने चेतावनी दिए। विकास र संरक्षण सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिँदै उनले स्थानीय सरकार, प्रदेश र संघीय सरकारबीच समन्वय आवश्यक रहेको बताए।
नुवाकोट निर्वाचन क्षेत्र नं. १ का स्वतन्त्र उम्मेदवारसमेत रहेका अधिवक्ता भण्डारीले कृषकको हक–अधिकार, उचित मूल्य, बजार व्यवस्थापन र कृषि बीमा जस्ता विषयलाई प्राथमिकतामा राखेर नीति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याए।

LEAVE A REPLY