नुवाकोट–१ मा डा. बिक्रम तिमिल्सिनाको जित अवसर र चुनौती दुबै: अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट — नुवाकोट निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. बिक्रम तिमिल्सिनाको विजयलाई अवसरसँगै चुनौतीको रूपमा लिनुपर्ने बताएका छन् अधिवक्ता रामेश्वर भण्डारीले।
भण्डारीका अनुसार नुवाकोटका मतदाताले परिवर्तन, सुशासन र विकासको अपेक्षासहित डा. तिमिल्सिनालाई मत दिएका हुन्। जनताले व्यक्त गरेको विश्वासलाई परिणाममा रूपान्तरण गर्नु अहिलेको सबैभन्दा ठूलो जिम्मेवारी भएको उनले बताएका छन्।
उनले नुवाकोटमा शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, रोजगारी र पूर्वाधार विकासका क्षेत्रमा अझै ठूला समस्या रहेको उल्लेख गर्दै जनताले चाहेको सुशासन र भ्रष्टाचारमुक्त व्यवस्थाको स्थापना गर्न निर्वाचित सांसदले प्रभावकारी पहल गर्नुपर्ने बताए।
भण्डारीले चुनाव जित्नु मात्रै अन्तिम उपलब्धि नभई जनताले दिएको जनादेशअनुसार काम गरेर देखाउनु नै वास्तविक परीक्षा हुने धारणा राखे। “नुवाकोटका जनताले परिवर्तनको अपेक्षा गरेका छन्, अब त्यो अपेक्षालाई व्यवहारमा उतार्ने चुनौती निर्वाचित प्रतिनिधिको काँधमा आएको छ,” उनले भने।
उनले नुवाकोटको दीर्घकालीन विकास, सुशासन र नागरिक अधिकार सुनिश्चित गर्न सबै राजनीतिक शक्ति, नागरिक समाज र सरोकारवाला पक्षबीच सहकार्य आवश्यक रहेको पनि उल्लेख गरे।
भण्डारीले लोकतान्त्रिक प्रक्रियाबाट आएको जनमतलाई सम्मान गर्दै अब नुवाकोटको समृद्धि र विकासका लागि सबै पक्ष जिम्मेवार ढंगले अघि बढ्नुपर्नेमा जोड दिएका छन ।











