“झोलुङ्गे पुलले आवतजावतसँगै आर्थिक र सामाजिक सम्बन्ध मजबुत बनाएको छ” — उपाध्यक्ष सन्जु प्याकुरेल
नुवाकोट — पञ्चकन्या गाउँपालिका र तादी गाउँपालिकालाई जोड्ने तादी तथा दोर्खु खोलामाथि निर्मित झोलुङ्गे पुल नेपालकै दोस्रो लामो झोलुङ्गे पुलका रूपमा परिचित बन्दै गएको छ। उक्त पुल सञ्चालनमा आएपछि दुई स्थानीय तहबीचको आवतजावत सहज हुनुका साथै स्थानीय बासिन्दाको दैनिक जीवन, व्यापारिक गतिविधि तथा सामाजिक सम्बन्धमा उल्लेखनीय सुधार आएको छ।
पहिले खोलाको वारपार गर्न स्थानीयलाई विभिन्न कठिनाइ भोग्नुपरेको अवस्थामा अहिले पुलको सुविधाले शिक्षा, स्वास्थ्य तथा बजारसम्म पुग्न सहजता ल्याएको छ। यसले विशेषगरी कृषिजन्य उत्पादनको बजारिकरणमा सकारात्मक प्रभाव पारेको स्थानीयहरू बताउँछन्।
तादी गाउँपालिका उपाध्यक्ष सन्जु प्याकुरेलले पुलले समग्र क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै भन्नुभयो, “यो झोलुङ्गे पुलले केवल आवतजावतलाई मात्र सहज बनाएको छैन, यसले स्थानीय आर्थिक गतिविधि र सामाजिक सम्बन्धलाई पनि मजबुत बनाएको छ। आगामी दिनमा यस क्षेत्रलाई आन्तरिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न सकिने ठूलो सम्भावना रहेको छ।”
यस क्षेत्रको धार्मिक तथा सांस्कृतिक महत्त्व पनि उत्तिकै उल्लेखनीय रहेको छ। पुल आसपास अवस्थित माहाकाली मन्दिर र हेमवतेश्वर मन्दिर आस्थाका केन्द्रका रूपमा परिचित छन्, जहाँ दैनिक रूपमा श्रद्धालुहरूको आवागमन हुने गर्दछ।
प्राकृतिक सुन्दरता, धार्मिक आस्था र आधुनिक पूर्वाधारको संयोजनले तादी–दोर्खु क्षेत्रलाई आन्तरिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्न सकिने देखिएको छ। स्थानीय तह तथा सरोकारवालाहरूले आवश्यक पूर्वाधार विकास र प्रभावकारी प्रचार–प्रसारमा जोड दिएमा यस क्षेत्रले थप पहिचान बनाउने विश्वास गरिएको छ।











