jनुवाकोटको शिक्षामा संकट: विद्यालय मर्जको दबाब, काठमाडौंमा भर्ना पाउन विद्यार्थीलाई कठिनाइ
नुवाकोट । नुवाकोटको पञ्चकन्या गाउँपालिकासहित जिल्लाका विभिन्न स्थानीय तहमा विद्यालय मर्ज गर्ने चर्चा तीव्र बन्दै जाँदा स्थानीय शिक्षाप्रणालीमाथि गम्भीर प्रश्न उठ्न थालेका छन्। विद्यार्थी संख्या घट्दै जानु, गुणस्तरीय शिक्षाको अभाव र अभिभावकको निजी तथा शहरी विद्यालयतर्फ बढ्दो आकर्षणका कारण सामुदायिक विद्यालयहरू कमजोर बन्दै गएका छन्।
पञ्चकन्या गाउँपालिकाका धेरै विद्यालयमा कक्षा अनुसार पर्याप्त विद्यार्थी नहुँदा शिक्षक र स्रोतसाधन प्रभावकारी रूपमा उपयोग हुन सकेका छैनन्। एउटै वडामा थोरै विद्यार्थी भएका धेरै विद्यालय सञ्चालन हुँदा शैक्षिक गुणस्तर खस्किएको सरोकारवालाहरू बताउँछन्। यही अवस्थाले विद्यालय मर्जको आवश्यकता औंल्याइएको हो।
यता, नुवाकोटका विद्यार्थीहरू गुणस्तरीय शिक्षाको खोजीमा काठमाडौं पुग्ने क्रम बढ्दो छ। तर काठमाडौंका सरकारी विद्यालयमा भर्ना पाउन उनीहरूलाई सहज छैन। सीमित सीट, स्थानीय बासिन्दालाई प्राथमिकता, बसोबास प्रमाणपत्रको झन्झट तथा भर्ना प्रक्रियाको जटिलताका कारण बाहिरबाट आउने विद्यार्थीहरू समस्यामा परेका छन्।
शिक्षा क्षेत्रका जानकारहरूका अनुसार स्थानीय तहमा प्रभावकारी अनुगमनको अभाव, शिक्षक व्यवस्थापनमा कमजोरी, तथा राजनीतिक प्रभावका कारण विद्यालयहरूको गुणस्तरमा अपेक्षित सुधार हुन सकेको छैन। यसले अभिभावकको विश्वास कमजोर बनाउँदै निजी विद्यालयतर्फ आकर्षण बढाएको देखिन्छ।
सरकारले विद्यालय मर्ज नीतिलाई अगाडि बढाउँदै “कम विद्यालय, तर गुणस्तरीय विद्यालय” बनाउने लक्ष्य लिएको भए पनि स्थानीय स्तरमा गुणस्तर सुधारमा ध्यान नदिइए समस्या झन् जटिल बन्ने चेतावनी दिइएको छ। सरोकारवालाहरूले मर्जसँगै आधुनिक शिक्षण प्रणाली, दक्ष शिक्षक, र पूर्वाधार सुधारमा जोड दिनुपर्ने बताएका छन्।
स्थानीय तहले शिक्षामा सुधार ल्याई आफ्नै ठाउँमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न सकेमा मात्रै विद्यार्थीहरूलाई काठमाडौं धाउनुपर्ने बाध्यता अन्त्य हुने देखिन्छ।

LEAVE A REPLY