तादीमा तेस्रो सामुदायिक स्वास्थ्य इकाई निर्माण अन्तिम चरणमा
नुवाकोट । तादी गाउँपालिका–६ स्थित गैरी गाउँमा तेस्रो सामुदायिक स्वास्थ्य इकाई भवन निर्माण अन्तिम चरणमा पुगेको छ। नेपाल ग्रिनतारा फाउन्डेसनको आर्थिक तथा प्राविधिक सहयोग तथा गाउँपालिकाको समन्वयमा उक्त स्वास्थ्य इकाई निर्माण कार्य अघि बढाइएको हो।
यसअघि फाउन्डेसनले वडा नं. १ काल्चे र वडा नं. २ चिलाउनेमा पनि सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिसकेको छ। गैरी गाउँमा निर्माणाधीन भवन सम्पन्न भएसँगै तादी गाउँपालिकामा आधारभूत स्वास्थ्य सेवाको पहुँच थप विस्तार हुने अपेक्षा गरिएको छ।
गाउँपालिकाले स्वास्थ्य, शिक्षा, महिला तथा बालबालिका क्षेत्रलाई प्राथमिकतामा राख्दै उल्लेखनीय लगानी गर्दै आएको छ। यस क्रममा नेपाल ग्रिनतारा फाउन्डेसनले दीर्घकालीन रूपमा सहकार्य गर्दै विभिन्न क्षेत्रमा योगदान पुर्‍याउँदै आएको छ।

संघ संस्था समन्वय समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष सञ्जु प्याकुरेल श्रेष्ठले दीर्घकालीन सोचका साथ काम गर्ने संस्थामध्ये नेपाल ग्रिनतारा फाउन्डेसन तादी गाउँपालिकामा अग्रणी संस्थाका रूपमा स्थापित भएको बताउनुभयो। स्थानीय सरकारको लक्ष्य प्राप्ति तथा समग्र विकासमा फाउन्डेसनको महत्वपूर्ण योगदान रहेको उहाँको भनाइ छ।
फाउन्डेसनका संस्थापक तासी तेन्जिङ शेर्पा र बन्दिनी शेर्पाले शिक्षा, स्वास्थ्य, महिला तथा बालबालिका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको जनाइएको छ। उपाध्यक्ष श्रेष्ठले महिलाहरूलाई पुरुषसरह सक्षम र प्रतिस्पर्धी बनाउन खेलकुद क्षेत्रलाई समेत प्राथमिकतामा राख्दै अघि बढिरहेको उल्लेख गर्नुभयो।
स्थानीय तह र संघसंस्थाबीचको प्रभावकारी सहकार्यले तादी गाउँपालिकाको विकास, समृद्धि र प्रगतिमा सकारात्मक योगदान पुर्‍याएको सरोकारवालाहरूले बताएका छन्।

LEAVE A REPLY