चण्डेश्वरी मन्दिरमा धार्मिक गतिविधि सक्रिय, संरचना निर्माणमा विभिन्न निकायको सहयोग
नुवाकोट । विदुर नगरपालिका–७ स्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको चण्डेश्वरी मन्दिरमा विभिन्न धार्मिक तथा सामाजिक गतिविधिहरू निरन्तर सञ्चालन हुँदै आएका छन्। चण्डेश्वरी माध्यमिक विद्यालयको जन्मस्थलसमेत रहेको उक्त मन्दिर क्षेत्र धार्मिक आस्थाको केन्द्रका रूपमा परिचित छ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विजय बोगटीका अनुसार प्रदेश सरकारका पूर्वमन्त्री माननीय हिरानाथ खतिवडाको पहलमा मन्दिरका लागि १२ लाख रुपैयाँ बजेट विनियोजन भई दुई कोठे धर्मशाला भवन निर्माण सम्पन्न भइसकेको छ। त्यसैगरी, वि.सं. २०७५ सालमा विष्णु बहादुर बोगटीको नेतृत्वमा ७ लाख रुपैयाँ सहयोग जुटाएर मन्दिर परिसरको संरक्षण कार्य गरिएको थियो।
मन्दिरमा हरेक वर्ष हरिबोधनी एकादशीका अवसरमा फूलको डोली उत्तरगयाधाम देवघाटमा लैजाने परम्परा रहेको छ। यसैबीच, चण्डी पूर्णिमाका दिन चण्डेश्वरी मन्दिरमा चण्डी देवीको पूजा भक्तजनहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको अध्यक्ष बोगटीले जानकारी दिनुभयो।
त्यसैगरी, प्रत्येक वर्ष तीज, शिवरात्रि र रामनवमीका अवसरमा पनि मन्दिरमा विशेष पूजा–आजा तथा धार्मिक कार्यक्रमहरू आयोजना हुँदै आएका छन्। स्थानीयवासी तथा भक्तजनहरूको सक्रिय सहभागिताले मन्दिर क्षेत्र धार्मिक तथा सांस्कृतिक केन्द्रका रूपमा थप सशक्त बन्दै गएको छ।











