तादीमा काष्ठफल तथा फलफूल विकास आयोजनाको अभिमुखीकरण सम्पन्न, उपाध्यक्ष सन्जु प्याकुरेलले कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताउनु भयो
नुवाकोट, असार १६ — पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना (NaFHA), आयोजना कार्यान्वयन एकाइ, बागमती प्रदेश, हेटौंडाको आयोजना तथा तादी गाउँपालिकाको समन्वयमा सम्भावित लाभग्राहीका लागि आयोजना अन्तर्गतका विभिन्न स्किम सम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रम तादी गाउँपालिकाकी उपाध्यक्ष सन्जु प्याकुरेलको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुजन शुभ भ्लोन, वडा अध्यक्षहरू सोनाम तामाङ र बच्चुराम तामाङ, NaFHA परियोजनाका प्रतिनिधिहरू, गाउँपालिकाका विषयगत शाखाका प्रमुख तथा कर्मचारी, स्थानीय राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय कृषक एवं व्यवसायीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
अभिमुखीकरण कार्यक्रममा NaFHA परियोजनाअन्तर्गत सञ्चालन हुने विभिन्न स्किम, लाभग्राही छनोट प्रक्रिया, अनुदानका अवसर, कार्यक्रम कार्यान्वयन विधि तथा कृषिमा व्यवसायिकता प्रवर्द्धन गर्ने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष सन्जु प्याकुरेलले तादी गाउँपालिकामा फलफूल तथा काष्ठफल खेतीको प्रशस्त सम्भावना रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले कृषकलाई आधुनिक, व्यवसायिक र आयमुखी कृषि प्रणालीतर्फ आकर्षित गर्ने विश्वास व्यक्त गरिन्। उनले उपलब्ध सरकारी कार्यक्रम तथा अनुदानको प्रभावकारी उपयोग गरी उत्पादन वृद्धि, रोजगारी सिर्जना र कृषकको आयस्तर सुधारमा सबैले सहकार्य गर्नुपर्नेमा जोड दिइन्।
कार्यक्रममा सहभागी कृषक तथा व्यवसायीहरूले
आयोजनाका विभिन्न स्किमबारे जानकारी प्राप्त गर्दै आगामी दिनमा योजनाको प्रभावकारी कार्यान्वयनमा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
Home banner news तादीमा काष्ठफल तथा फलफूल विकास आयोजनाको अभिमुखीकरण सम्पन्न, उपाध्यक्ष सन्जु प्याकुरेलले कृषिमा...








