नुवाकोटभरका होटल तथा खाद्यान्न व्यवसायमा साप्ताहिक बजार अनुगमन आवश्यक : मूल्यवृद्धि, गुणस्तर र उपभोक्ता हित संरक्षणमा प्रशासन सक्रिय हुनुपर्ने
अधिवक्ता रामेश्वर भण्डारीले नुवाकोट जिल्लाभर सञ्चालनमा रहेका होटल, रेष्टुरेन्ट तथा खाद्यान्न व्यवसायमा नियमित र प्रभावकारी अनुगमन गर्न जिल्ला प्रशासन कार्यालय नुवाकोटसँग आग्रह गरेका छन्।
उनले टोखा छहरे, थानसिङ, ढिकुरे, आप्रह, खरानीटार, सातबिसे, समुद्रटार, रामती, दुप्चेश्वरदेखि गल्छी, देविघाट, बट्टार, बिदुर र त्रिशूलीसम्मका होटल तथा खाद्यान्न पसलहरूमा बिक्री हुने खाना, नास्ता, पेयपदार्थ तथा दैनिक उपभोग्य वस्तुको गुणस्तर, मूल्यसूची, म्याद, सरसफाइ र तौल–नापको नियमित अनुगमन हुनुपर्ने बताएका छन्।
उनका अनुसार बजारमा उपभोक्ताबाट मूल्यमा असमानता, गुणस्तरहीन खाद्यान्न, म्याद गुज्रिएका सामग्रीको बिक्री तथा मूल्यसूची बिना कारोबार भइरहेको भन्ने गुनासो समय–समयमा आउने गरेको छ। यस्ता गतिविधि नियन्त्रण गर्न जिल्ला प्रशासन, सम्बन्धित स्थानीय तह तथा सरोकारवाला निकायले समन्वय गरी कम्तीमा हप्तामा एक पटक नियमित बजार अनुगमन सञ्चालन गर्न आवश्यक देखिन्छ।
भण्डारीले अनुगमन केवल औपचारिकतामा सीमित नभई कानुनविपरीत कार्य गर्ने व्यवसायीमाथि प्रचलित कानुनबमोजिम आवश्यक कारबाही गरिनुपर्नेमा जोड दिएका छन्। साथै, नियम पालना गर्ने व्यवसायीलाई प्रोत्साहन गर्दै स्वस्थ, स्वच्छ र पारदर्शी बजार प्रणाली निर्माण गर्न प्रशासनले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ छ।
उनले उपभोक्ताको अधिकार संरक्षण, स्वस्थ खाद्य वस्तुको उपलब्धता, कालोबजारी तथा कृत्रिम मूल्यवृद्धि नियन्त्रण र बजारमा निष्पक्ष प्रतिस्पर्धा कायम गर्न नियमित अनुगमन अपरिहार्य रहेको उल्लेख गरेका छन्। यसले उपभोक्ताको विश्वास बढाउनुका साथै व्यवसायलाई पनि थप जिम्मेवार र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
Home banner news नुवाकोटभरका होटल तथा खाद्यान्न व्यवसायमा साप्ताहिक बजार अनुगमन आवश्यक : मूल्यवृद्धि, गुणस्तर...








