तेस्रो बच्चा जन्माउने आमालाई विदुर–४ ले २० हजार रुपैयाँ दिने
विदुर, नुवाकोट
नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ४ ले तेस्रो सन्तान जन्माउने आमालाई २० हजार रुपैयाँ प्रोत्साहन रकम दिने निर्णय गरेको छ। वडाले चालु आर्थिक वर्षदेखि यो व्यवस्था लागू गरेको जनाएको छ।
वडा अध्यक्ष निलमबाबु ढुङ्गेलका अनुसार पछिल्लो समय जन्मदर घट्दै गएकाले परिवारलाई प्रोत्साहन गर्न यस्तो कार्यक्रम ल्याइएको हो। उहाँले बसाइँसराइ र ढिलो विवाह गर्ने चलन बढ्दै जाँदा बालबालिकाको सङ्ख्या कम हुँदै गएको बताउनुभयो।
यो सुविधा विदुर नगरपालिका वडा नम्बर ४ का स्थायी बासिन्दाले मात्र पाउनेछन्। प्रोत्साहन रकम लिन अस्पतालबाट प्राप्त जन्म प्रमाण, जन्मदर्ताको प्रमाणपत्र तथा बुबा–आमाको नागरिकताको प्रतिलिपि लिएर वडा कार्यालयमा निवेदन दिनुपर्नेछ।
वडा अध्यक्ष निलमबाबु ढुङ्गेलले भन्नुभयो, “जन्मदर घट्दै जाँदा भविष्यमा जनशक्तिको अभाव हुन सक्छ। त्यसैले परिवारलाई प्रोत्साहन गर्न चालु आर्थिक वर्षको बजेटबाट २० हजार रुपैयाँ दिने व्यवस्था गरेका हौँ।”
स्थानीयवासीले वडाको यस निर्णयलाई सकारात्मक रूपमा लिएका छन्। यसले जन्मदर बढाउन र परिवारलाई केही आर्थिक सहयोग पुग्ने अपेक्षा गरिएको छ।

LEAVE A REPLY