नागरिक सुनुवाइ तथा शान्ति सुरक्षा अन्तरक्रिया सम्पन्न
काठमाडौं, असार २८ — प्रहरी वृत्त बालाजु, सामुदायिक सेवा केन्द्र बालाजु–बोहराटार र सामुदायिक सेवा केन्द्र तारकेश्वरको संयुक्त आयोजना तथा तारकेश्वर नगरपालिका वडा नं. ११ को सहकार्यमा आइतबार तारकेश्वर नगरपालिका–११, नेपालटारमा नागरिक सुनुवाइ तथा शान्ति सुरक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरीका अधिकारी, सामुदायिक सेवा केन्द्रका पदाधिकारी, सामाजिक अभियन्ता तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अन्तरक्रियामा समुदायमा शान्ति सुरक्षा सुदृढ गर्ने, अपराध नियन्त्रणमा नागरिक–प्रहरी सहकार्यलाई प्रभावकारी बनाउने, लागूऔषध दुव्र्यसन, साइबर अपराध, महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा, ट्राफिक व्यवस्थापन लगायतका समसामयिक विषयमा छलफल गरिएको थियो।
सहभागीहरूले आफ्नो क्षेत्रका शान्ति सुरक्षा सम्बन्धी जिज्ञासा, सुझाव तथा गुनासाहरू राखेका थिए भने प्रहरी अधिकारीहरूले उठाइएका प्रश्नहरूको जवाफ दिँदै समुदायसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।
कार्यक्रममा नागरिक र प्रहरीबीच विश्वासको सम्बन्ध थप मजबुत बनाउँदै सुरक्षित, सभ्य र अपराधमुक्त समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइएको थियो।








