असार ३० काठमाण्डौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री हित बहादुर तामाङले मन्त्रालय मातहतका कर्मचारीहरुलाई यस बर्षको बजेट कार्यन्वयनमा दत्तचित्त भएर लाग्न आग्रह गर्दै मन्त्रालयबाट बिदा लिनु भएको छ ।

आइतवार मन्त्रालयमा बिदाई समारोहला संबोधन गर्दै उहाँले आफू्रले मन्त्री भएर आएपछि कुनै पनि विभागीय प्रमुख र कर्मचारीहरुको हेरफेर र विभेद नगरेको भन्दै जो सुकै नेतृत्वमा आए पनि कर्मचारीको मनोवल उच्च बनाएर काम गर्नु पर्ने आवस्यकता रहेकोमा जोड दिनु भयो ।

आफूले सचिव गणेश पाण्डेबाट ठूलो सहयोग पाएको भन्दै कुनै पनि कर्मचारी माथि भेदभावका दृष्टिले आफूले नहेरेको मन्त्री तामाङको भनाई छ ।

कतिपय कर्मचारीको अपेक्षा आफूले पूरा गर्न नसकेको भए क्षमा गर्न भन्दै चार महिना बढीको अवधिमा आफूले सबै कर्मचारीबाट सहयोग पाएको महसुस भएको उहाँले बताउनु भयो ।

आफ्नो पहलमा वायुसेवा निगमको जहाजको सम्पूर्ण मर्मत सम्बन्धि छानविन समिति बनाएको भन्दै मन्त्री तामाङले न्यारो बडी ए ३२० र ए ३३० दुई वटा जहाजको मर्मतको ढिलाईले एक अर्ब बढी घाटा भएको समितिले तयार गरेको प्रारम्भिक प्रतिवेदनमा उल्लेख भएको पाईएकोले पछि आउने मन्त्रीले पनि नेपालको ध्वजाबाहक जहाजका बारेमा गंभीर चासो दिनु पर्नेमा जोड दिनु भयो ।

यसै गरी विमानस्थलहरुको व्यवस्थापनमा निजी क्षेत्रलाई समेत सहभागी गराउने गरी अध्ययन गर्न कार्यदल बनेको र प्रतिवेदन तयार भएको भन्दै खास गरी लुम्विनीमा निर्मित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र पोखरा विमानस्थलको व्यवस्थापनमा निजी क्षेत्रलाई पनि समावेश गर्न आफूले पहल लिएको उहाँले बताउनु भयो । उक्त अध्ययन कार्यदलको प्रतिवेदनको आधारमा विमानस्थल सन्चालन गर्नेबारेमा मन्त्रालय लाग्नुपर्ने उहाँको भनाई थियो ।

उहाँले नेपाली जहाजहरुलाई युरोपेली आकाशमाथिको प्रतिवन्ध हटाउन विभिन्न सुधारका कामहरु अघि बढेको र त्यसलाई निष्कर्षमा पुर्याउन सबैले अग्रसरता लिनु पर्ने बताउनु भयो ।

यसै गरी लुम्विनी गुरुयोजनाको काम ८२ प्रतिशत सम्पन्न भएको भन्दै उहाँले त्यसको आर्थिक प्रगतिमा मन्त्रालयले पनि ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।

मन्त्री तामाङले लुम्विनीसँग जोडिएको तिलोत्तमा, देव दह सहितका ऐतिहासिक सम्पदाहरुलाई गुरुयोजनासँग जोडेर लैजानु पर्ने आवस्यकता आफूले देखेको भन्दै विश्वभरबाट धार्मिक पर्यटक भित्र्याउने सपना पूरा गर्न सकिने बताउनु भयो ।

उहाँले समयको अभावले मन्त्रालय मातहतका विभिन्न समितिहरुको समस्या समाधान गर्न आफूले नसकेको स्वीकार गर्दै पशुपति क्षेत्र विकास कोष, लुम्विनी विकास कोष आदिलाई पनि आफूले उल्लेख्य समय दिन नसके पनि मातहतका संस्थाहरुको काम कार्बाहीमा आफूले सके सम्म चासो दिएको बताउनु भयो । तारा गाउँ विकास समितिमा देखिएको समस्या समाधानमा पनि आफुले चासो राखेपनि समय अभावका कारण काम गर्न नसकिएकोउहाँको भनाई थियो ।

मन्त्री तामाङले पशुपतिनाथको मन्दिरमा दर्शनार्थीहरुको सुविधाका लागि बिहान ४ बजेदेखि बिहान ८ बजे सम्म चार वटै ढोका खोल्ने निर्णय आफूले गराएको जानकारी दिनु भयो ।

यस्तै उहाँले पशुपति क्षेत्रमा दर्शनार्थीका लागि निशुल्क प्रसादका रुपमा भोजनको व्यवस्था गर्ने विषयमा आफूले प्रतिवेदन तयार पार्न लगाए पनि त्यो कार्यन्वयन गर्न नपाएको बताउनु भयो ।

यसै गरी पशुपति क्षेत्र विकास कोषको कार्यकारी निर्देशक नियुक्ति मन्त्रीको तजविजमा यस अघि हुने गरेको भन्दै अहिले आफूले अदालतको निर्देशन अनुसार खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्न सफल भएको पनि उहाँले जानकारी दिनु भयो । मन्त्री तामाङले पशुपति क्षेत्र विकास कोषको राष्ट्रिय गौरवको योजना, विश्वरुपा मन्दिर र लुम्बिनी क्षेत्र विकास कोषको राष्ट्रिय गौरवको योजनाको भुक्तानी दिलो भएको सम्बन्धमा सम्भिर समिक्षा गर्न जरुरीरहेको पनि धारणा राख्नुभयो ।

LEAVE A REPLY