नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलले नेपाली साङ्गीतिक आकाशकी प्रतिष्ठित गायिका रचना रिमाललाई सम्मान गरेको छ। विभिन्न देशमा सांगीतिक कार्यक्रम गर्ने सन्दर्भले गायिका रिमाल युरोप भ्रमणमा छिन्। यसै सन्दर्भले पोर्चुगलमा आयोजना हुने विभिन्न कार्यक्रमहरूमा सहभागी हुन रिमाल पोर्चुगलको राजधानी लिस्बनमा भएका बेला नेपाली जनप्रगतिशील मञ्च पोर्चुगलले एक कार्यक्रम बीच सम्मान गरेको हो।।
कार्यक्रममा नेपाली जनप्रगतिशील मञ्च युरोपका सचिव हरिशचन्द्र पोखरेल, सदस्य युवराज खनाल, युरोप पार्टी कमिटीका सदस्य नवराज शर्मा, पोर्चुगलका निवर्तमान वरिष्ठ उपाध्यक्ष रेशम बस्नेत कास्की समाजका अध्यक्ष विशाल आचार्य, ठकुरी समाज पोर्चुगलका सल्लाहकार सज्जन हमाल नेपाल बुद्धिजीवी संगठनका मधेस प्रदेश उपाध्यक्ष नृपेश गिरी सहित पोर्चुगल कार्यसमितिका सचिव राजन गिरी सहकोषाध्यक्ष शम्भु उप्रेती लगायत सदस्यहरूको उपस्थिति रहेको थियो।
सम्मान पत्र सहित खादा ओडाएर नगद सहित सम्मान गर्दै गायिका रचना रिमाललाई नेपाली भाषा तथा साहित्यको सम्बर्धनमा गीत संगीत मार्फत अनवरत सक्रिय रहन अनुरोध गर्दै नेपाली साहित्य आकाशमा सदैव सफल रहन शुभकामना व्यक्त गरिएको थियो। नेपाली सांगीतिक आकाशमा २०००भन्दा बढी सुपरहिट गीतहरू गाएर कलिलो उमेरमा नै राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालीहरुलाई भावनात्मक रूपमा एकताबद्ध बनाएकोमा हार्दिक आभार र कृतज्ञता समेत व्यक्त गरिएको थियो।
आफू युरोप भ्रमणमा रहेका बेला यसरी सम्मान गरिएकोमा संगठन आभारी रहेको व्यक्त गर्दै गायिका रिमालले आभार र धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।