
नुवाकोट, सुर्यगढी — सचेत नागरिक अभियान नेपालको विशेष पहलमा नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघद्वारा नुवाकोट जिल्ला सुर्यगढी गाउँपालिका–१, छापस्थित मंगलदेवी माध्यमिक विद्यालयका २५० जना विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरिएको छ।
उक्त कार्यक्रम पूर्व विद्यार्थी तथा नेकपा केन्द्रिय प्रतिनिधि सदस्य जीवन तामाङ (सी) को संवाद एवं समन्वयमा सम्पन्न भएको हो।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश तामाङले गरेका थिए।मुख्य अतिथि तथा संघका केन्द्रीय अध्यक्ष बिजेन्द्र विक्रम शाहले संघले आफ्नो ३६औँ स्थापना दिवसको अवसरमा देशका विभिन्न जिल्लामा शैक्षिक सामग्री वितरण कार्यक्रम सञ्चालन गर्दै आएकोले मंगलदेवी विद्यालय पनि त्यही अभियानको हिस्सा भएको बताए।
विशेष अतिथि तथा नेकपा केन्द्रीय सदस्य एवं नुवाकोट जिल्ला इञ्चार्ज महेन्द्र तामाङ (सी) ले विद्यार्थीहरुलाई प्रेरणादायी भनाइ राख्दै भने,“यो कापी–कलमले तपाईंहरूको भविष्य मात्र होइन, राष्ट्रको भाग्य पनि लेखियोस्।”

निवर्तमान अध्यक्ष निमनाथ दाहालले संघले सामग्री मात्र नभई ज्ञानको प्रकाश पनि वितरण गरिरहेको उल्लेख गरे।अर्का अतिथि रघु पण्डितले अध्ययनले जीवनको दिशा बदल्ने बताउँदै विद्यार्थीहरूलाई लक्ष्य–केन्द्रित भएर अघि बढ्न आह्वान गरे। कार्यक्रमका विशेष अतिथि तथा पूर्व विद्यार्थी जीवन तामाङ (सी) ले आफूले अध्ययन गरेको विद्यालयलाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्दै भने,“शिक्षकहरू मैनबत्ती जस्तै — आफू जलेर अरूलाई उज्यालो दिने। संघले हाम्रो अनुरोध स्वीकार गरी सहयोग गरेकोमा धन्यवाद।”विद्यालयका प्र.अ. दत्त प्रसाद न्यौपानेले उपलब्ध सामग्री सदुपयोग गरिने प्रतिबद्धता व्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा गरे।कार्यक्रमको समापनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश तामाङले सबैलाई धन्यवाद दिएका थिए।











