काठमाडौँ — पार्टी पुनर्गठनका उद्देश्यसहित सञ्चालन हुँदै आएको प्रगतिशील राष्ट्रिय अभियान आजदेखि औपचारिक रूपमा ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’ मा रूपान्तरण भएको घोषणा गरिएको छ। पूर्व निर्धारित निर्वाचन तालिकाको चाप तथा एकीकृत संगठनात्मक संरचना आवश्यक भएको निष्कर्षपछि अभियानले नयाँ पार्टी स्वरूप सार्वजनिक गरेको हो।

अभियानका अनुसार नेपाल समाजवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार समूह र जेन–जेड प्रतिनिधि समूहसँग दीर्घकालीन राजनीतिक दृष्टि, विकसित विचार, सिद्धान्तिक मान्यता र संगठनात्मक रुपरेखामा सहमति बनेपछि रूपान्तरण प्रक्रिया सहज बनेको छ। सहमतिपछि अबको नेपाली राजनीतिमा युवालाई केन्द्रीय मियो बनाएर नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने लक्ष्य पार्टीले तय गरेको छ।

‘जगैबाट सुरु हुने, अनुकरणीय, प्रगतिशील तथा लोकतान्त्रिक राजनीतिक संस्कृति स्थापना’ मुख्य उद्देश्य रहेको बताउँदै पार्टीले नयाँ यात्राको औपचारिक सुरुआत गरेको घोषणा गरेको छ।

पार्टीले समान विचार, सहकार्य मनोवृत्ति तथा शुभेच्छा राख्ने सबैलाई साथ र हालेमालोका लागि अपिल पनि गरेको छ।

LEAVE A REPLY