
नुवाकोट — नुवाकोट जिल्लाको खेलकुद विकासका विषयमा अधिवक्ता रामेश्वर भण्डारी र राष्ट्रिय तेक्वान्दो संघ तथा सुर्यगढी तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक ईश्वर बहादुर तामाङ लामा (सुर्य)बीच छलफल सम्पन्न भएको छ।
छलफलका क्रममा “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नारालाई केन्द्रमा राख्दै जिल्लामा खेलकुदको अवस्था, सम्भावना र चुनौतीबारे गहन विचार–विमर्श गरिएको थियो।
सुर्यगढी तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक ईश्वर बहादुर तामाङले नुवाकोटमा तेक्वान्दो खेलको ठूलो सम्भावना रहेको उल्लेख गर्दै भने, “सही प्रशिक्षण, निरन्तर अभ्यास र स्थानीय तहको सहयोग हुन सके नुवाकोटबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सकिन्छ।”
उनले खेलकुद केवल प्रतियोगितामा सीमित नरही युवालाई अनुशासन, आत्मविश्वास र स्वस्थ जीवन शैलीतर्फ उन्मुख गराउने प्रभावकारी माध्यम भएको बताए।
अधिवक्ता रामेश्वर भण्डारीले खेलकुद विकासलाई नीति, योजना र लगानीसँग जोडेर अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै युवालाई कुलत र निराशाबाट जोगाउन खेलकुद अपरिहार्य रहेको धारणा राखे।
छलफलमा नुवाकोटका तेक्वान्दोका पुराना खेलाडी राजु राईको समेत उपस्थिति रहेको थियो। उनले आफ्नो अनुभव साझा गर्दै खेलाडीको संरक्षण र दीर्घकालीन प्रोत्साहनको खाँचो रहेको बताए।











