बजारमा बिक्री–वितरण भइरहेका खाद्यान्नमा बढ्दो मिसावटप्रति सचेत नागरिक अभियान नेपालले गम्भीर चासो व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएको छ। अभियानले दैनिक उपभोग्य खाद्यान्नमा हुने मिसावटले आम नागरिकको स्वास्थ्यमा गम्भीर खतरा पैदा गरिरहेको जनाएको छ।

अभियानका अनुसार चामल, दाल, तेल, मसला, दूध तथा दूधजन्य पदार्थलगायत खाद्यान्नमा गुणस्तरहीन र हानिकारक वस्तु मिसावट हुने क्रम बढ्दो छ, तर त्यसअनुसार सरकारी अनुगमन प्रभावकारी देखिएको छैन। कमजोर बजार अनुगमन, सीमित प्रयोगशाला परीक्षण र कारबाहीको अभावका कारण व्यवसायीहरू मनपरी गर्न प्रोत्साहित भइरहेको अभियानको ठहर छ।

यस विषयमा प्रतिक्रिया दिँदै अधिवक्ता रामेश्वर भण्डारीले खाद्यान्नमा हुने मिसावटलाई उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर अपराध भएको बताए। “खाद्यान्नमा हुने मिसावट उपभोक्ता अधिकारमाथिको ठाडो आक्रमण हो, यसमा सरकारले शून्य सहनशीलताको नीति अपनाउनुपर्छ,” उनले भने।

सचेत नागरिक अभियान नेपालले नियमित र प्रभावकारी बजार अनुगमन, गुणस्तर परीक्षणको दायरा विस्तार, दोषी व्यवसायीमाथि कडा कानुनी कारबाही र उपभोक्ता सचेतना कार्यक्रमलाई तीव्रता दिन सरकारसँग माग गरेको छ। साथै अभियानले उपभोक्तालाई पनि सचेत भई शंकास्पद खाद्यान्नबारे सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गरेको छ।

LEAVE A REPLY