काठमाडौं । अधिवक्ता रामेश्वर भण्डारीले लोकतन्त्रको वास्तविक सार नागरिकका मौलिक अधिकारको प्रभावकारी कार्यान्वयनमा निहित रहेको बताएका छन्। उनले संविधान र कानुनमा सुनिश्चित गरिएका अधिकार व्यवहारमा लागू नभएसम्म लोकतन्त्र सबल बन्न नसक्ने स्पष्ट पारे।

लोकतन्त्रमा नागरिकले राजनीतिक दल खोल्न, निर्वाचनमा सहभागी हुन, आफ्ना विचार र अभिमत स्वतन्त्र रूपमा व्यक्त गर्न तथा सरकारका कामकाजमाथि खबरदारी गर्न पाउने अधिकार सुनिश्चित हुनुपर्ने भण्डारीको भनाइ छ। “कानुनमा अधिकार लेखिनु मात्रै पर्याप्त होइन, राज्यले ती अधिकारको प्रयोग सुरक्षित र सहज बनाउने वातावरण सिर्जना गर्नुपर्छ,” उनले भने।

उनले सबै राजनीतिक दल, सरकार र सरोकारवाला निकायले लोकतान्त्रिक मूल्य–मान्यतालाई आत्मसात गर्दै सकारात्मक सोचको विकास गर्नुपर्नेमा जोड दिए। नकारात्मक सोच, दमन र असहिष्णुताले लोकतन्त्र कमजोर बनाउने भन्दै उनले संवाद, सहमति र विधिको शासनलाई प्राथमिकता दिन आग्रह गरे।

अधिवक्ता भण्डारीले नागरिक सचेतना अभिवृद्धि, स्वतन्त्र न्यायपालिका, उत्तरदायी सरकार र सशक्त नागरिक समाज लोकतन्त्र मजबुत बनाउने मुख्य आधार भएको उल्लेख गर्दै यी पक्षमा निरन्तर सुधार आवश्यक रहेको बताए।

LEAVE A REPLY