काठमाडौँ — अधिवक्ता रामेश्वर भण्डारीले नेपालको राजनीतिको मुख्य समस्या नेताहरू आजीवन शक्ति र पदमा टिकिरहने प्रवृत्ति रहेको बताएका छन्। उनले लोकतन्त्रको मर्म विपरीत सीमित व्यक्तिहरूले लामो समयसम्म सत्ता र निर्णय प्रक्रियामा कब्जा जमाउँदा राजनीतिक प्रणाली कमजोर बन्दै गएको उल्लेख गरे।

अधिवक्ता भण्डारीका अनुसार नेतृत्व परिवर्तन, आन्तरिक लोकतन्त्र र जवाफदेहिताको अभावले राजनीति जनताबाट टाढिँदै गएको छ। “राजनीति सेवाको माध्यम हुनुपर्छ, तर यहाँ पद र शक्ति नै अन्तिम लक्ष्य बनेको छ,” उनले भने, “यसले युवाको सहभागिता घटाएको छ र नयाँ सोचलाई अवरुद्ध बनाएको छ।”

उनले दलभित्र समयसीमा तोकेर नेतृत्व हस्तान्तरण, पारदर्शी निर्वाचन प्रक्रिया र नीति–आधारित राजनीतिलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिए। साथै, नागरिक सचेतना र निरन्तर खबरदारीले मात्रै लोकतन्त्रलाई सुदृढ बनाउन सकिने उनको भनाइ छ।

अधिवक्ता भण्डारीले राजनीतिक संस्कार परिवर्तन नगरी समृद्ध र उत्तरदायी शासन सम्भव नहुने स्पष्ट पार्दै सबै दल र नेतृत्वलाई आत्मसमिक्षा गर्न आग्रह गरेका छन्।

LEAVE A REPLY