
नुवाकोट । खेलकुदमार्फत स्वस्थ जीवनको सन्देश दिने उद्देश्यले नागिनी थान युवा क्लब, म्यागङ–५ कल्लाबारी पोखरी, नुवाकोटको आयोजनामा आगामी माघ ४ गतेदेखि अन्तर जिल्लास्तरीय «७ ए साइड» फुटबल प्रतियोगिता तथा लोहसार कार्यक्रम हुने भएको छ । क्लबले नुवाकोटको विभिन्न स्थानीय तह तथा छिमेकी जिल्लाकासहित सहभागी टिमहरुबीच प्रतियोगिता आयोजना गर्न लागेको हो ।
क्लबका अध्यक्षको अनुसार प्रतियोगिताका लागि टिम दर्ता मिति माघ ३ गतेसम्म खुला गरिएको छ । खेल उद्घाटन माघ ४ गते नागिनी थान खेल मैदानमा हुनेछ भने खेल समापन तथा बृहत् लोहसार सांस्कृतिक कार्यक्रम माघ ९ गते सम्पन्न हुने जनाइएको छ ।
प्रतियोगितामा विजेता टिमलाई नगद १ लाख १ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ । त्यस्तै, उपविजेताले नगद ५१ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट रक्षक र गोलकिपर आदिलाई पनि ट्रफी तथा प्रमाण–पत्रद्वारा सम्मानित गरिने क्लबले जानकारी दिएको छ ।
क्लबले सहभागी टिमलाई खेल शुल्क, खेल मैदान व्यवस्थापन, खेलाडी संलग्नता र प्रतियोगिता सञ्चालन सम्बन्धी सम्पूर्ण तयारी पूरा गरिरहेको जनाएको छ । खेलसँगै विविध सांस्कृतिक प्रस्तुति तथा स्थानीय कलाकारहरूको सहभागिता रहने भएकाले कार्यक्रम मनोरञ्जनात्मक हुने आयोजकको विश्वास छ ।
यसैगरी, सहभागी क्लब/संस्था/विद्यालयहरूले माघ ३ गतेसम्म दिउँसो ९ बजेभित्र टाइशीट फारम भर्नुपर्ने र खेल नियमअनुसार ७ ए साइडमा अतिरिक्त ८ सहित खेलाडी संख्या १३ जना रहने जनाइएको छ ।
क्लबका पदाधिकारीहरूले नुवाकोट र वरपरका जिल्लामा खेलकुदको प्रवद्र्धन, युवामा सकारात्मक सोच विकास तथा सामाजिक सद्भाव मजबुत बनाउन प्रतियोगिता महत्वपूर्ण हुने बताएका छन् ।











