स्व. एकाबहादुर पाठकको १०६ औँ जन्मजयन्तीमा सुन्दरा माविका १०० विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
नुवाकोट, पौष — स्वर्गीय एकाबहादुर पाठकको १०६ औँ जन्मजयन्तीको अवसरमा नुवाकोटको तादी गाउँपालिका–४ स्थित सुन्दरा माध्यमिक विद्यालयमा अध्ययनरत १०० जना विद्यार्थीलाई स्कुल ब्याग, कापी–कलम लगायतका शैक्षिक सामग्री वितरण गरिएको छ। स्व. पाठककै स्मृतिमा स्थापना गरिएको ‘एकाबहादुर पाठक समाज विकास संस्था’मार्फत उक्त सामग्री वितरण कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा तादी गाउँपालिका अध्यक्ष तथा प्रमुख अतिथि सन्तमान तामाङ, उपाध्यक्ष सञ्जु प्याकुरेल, वडा अध्यक्ष अश्विन कुमार पाण्डे, इलाका प्रशासन कार्यालय सातबिसेका प्रमुख सावित्रा भण्डारी, नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष रामहरि गजुरेललगायत जनप्रतिनिधि, शिक्षक–शिक्षिका र अभिभावकहरूको सहभागिता रहेको थियो।
विद्यालयका प्रधानाध्यापक कपिलेश्वर मण्डलको संयोजनमा सम्पन्न सो कार्यक्रममा आयोजक पक्षले विद्यालय प्रशासन, शिक्षक–शिक्षिका तथा सहयोगी हातहरूलाई धन्यवाद व्यक्त गर्दै निरन्तर साथ–सहयोगको अपेक्षा राखेको छ।
स्व. पाठकले करिब ७० वर्षअघि नै यस सुन्दरा माविसहित नुवाकोटको पूर्वी क्षेत्रका दुर्गम गाउँबस्तीमा शिक्षाको पहुँच विस्तारका लागि करिब एक दर्जन विद्यालय स्थापना गर्न अगुवाइ गरेका थिए। समाजसेवाका क्रममा उहाँले आफ्नो सम्पत्ति खर्चेर, पारिवारिक कठिनाइ बेहोर्दै पनि गरिब तथा वञ्चित समुदायका बालबालिकामा शिक्षा अधिकारको उज्याला फैलाउन महत्वपूर्ण योगदान गर्नुभएको थियो।
उहाँकै त्याग र योगदानको कदरस्वरूप तादी गाउँपालिकाले लागू गरेको स्थानीय पाठ्यक्रमअन्तर्गत कक्षा ८ मा उनका योगदान र जीवन संघर्षसम्बन्धी पाठ समेत समावेश गरिएको छ। यसले आगामी पुस्तालाई समाज हितका कामतर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरिएको छ।

LEAVE A REPLY