
नुवाकोट — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोट जिल्लामा पूर्ण जिल्ला कमिटीको निर्णयअनुसार उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरिएको छ। समिति संयोजकमा शरण महत तथा सदस्यमा बसन्त धिताल र राजु प्रसाद लामिछाने रहनेगरी तीन सदस्यीय संरचना निर्माण गरिएको हो।
समितिले आवश्यकता अनुसार थप उपसमितिहरू गठन गर्दै जाने निर्णय समेत गरेको छ। यसै क्रममा समितिले आजै तत्कालीन विवेकशील–साझा पार्टीका जिम्मेवार साथीसहित उज्यालो नेपालमा सक्रिय रहँदै आएका जिम्मेवार व्यक्तिहरूसँग प्रारम्भिक राजनीतिक संवाद र कार्यसामञ्जस्य सम्बन्धी महत्वपूर्ण छलफल सम्पन्न गरेको छ।
छलफलमा नुवाकोट जिल्लामा तहगत संगठन विस्तार, समन्वय र सुदृढीकरणका उपायहरू, तथा आगामी निर्वाचनमा दुवै प्रतिनिधि सभा क्षेत्रमा परिणाममुखी सफलता ल्याउने योजनाबारे केन्द्रित रूपमा चर्चा गरिएको संयोजक महतले जानकारी गराए।
रास्वपाको संगठनलाई चुस्त–दुरुस्त बनाउँदै जनअपेक्षाअनुरूप प्रभावकारी राजनीतिक अभियान सञ्चालन गर्ने अठोटसहित समिति सक्रिय रूपमा अघि बढ्ने जनाइएको छ।











