संरक्षणको पर्खाइमा खरानीटार उच्च माविको जीर्ण भवन
नुवाकोट—खरानीटार उच्च माध्यमिक विद्यालयको उत्तर–पूर्व क्षेत्रमा अवस्थित चार दशकअगाडि निर्माण गरिएको छात्रावास भवन जीर्ण बन्दै गएको छ। निर्माणकाे समयमा अभिभावक तथा विद्यार्थीहरूमा खुसी छाएको उक्त भवन अहिले संरक्षण अभावमा भत्किनै लागेको छ।
शैक्षिक पूर्वाधार अत्यन्त कम रहेको समयमा विद्यार्थीको आवासीय आवश्यकताका लागि महत्वपूर्ण मानिएको उक्त भवनले विगतमा भौतिक प्रयोगसँगै समाजका अनेकौँ घटनाक्रमको साक्षी बन्दै आएको स्थानीयको भनाइ छ। भूत–प्रेतका कथादेखि राजनीतिक गतिविधिसम्म इतिहास समेटिएको भनिने भवन आज भत्किने अवस्थामा पुगेको हो।
समयसँगै सुन्दरतामा कमी आउँदै जाँदा भवनसँग सम्बन्धित जग्गासमेत झारपातले ढाकिएको छ। स्थानीयले यसलाई ऐतिहासिक सम्पदा जस्तै संरक्षण गर्न माग गरेका छन्।
नेपालमा धरहरा, रानीपोखरी लगायत ऐतिहासिक संरचनाहरू पुनर्निर्माण हुँदै गर्दा संरक्षित हुनुपर्ने यस प्रकारका भवनहरू उपेक्षामा परेको स्थानीयको गुनासो छ। पुराना संरचनाको संरक्षणमा भक्तपुरलाई उदाहरणीय भन्दै सर्वसाधारणले यस्ता महत्वपूर्ण सम्पदाप्रति सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

LEAVE A REPLY