ककनीको स्ट्रबेरी खेतीले नुवाकोटको आर्थिक विकासमा टेवा पुर्याउने छ : अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट । नुवाकोट जिल्लाको ककनी गाउँपालिकामा भइरहेको स्ट्रबेरी खेतीले जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने अधिवक्ता रामेश्वर भण्डारीले बताएका छन्। ककनी क्षेत्रको हावापानी, उचाइ र माटो स्ट्रबेरी खेतीका लागि अत्यन्तै उपयुक्त भएकाले यसलाई व्यावसायिक रूपमा विस्तार गर्न सके स्थानीय अर्थतन्त्र मजबुत हुने उहाँको धारणा छ।
अधिवक्ता भण्डारीका अनुसार ककनीमा उत्पादन हुने स्ट्रबेरीलाई ब्रान्डिङ गरी आन्तरिक तथा बाह्य बजारमा प्रवर्द्धन गर्न सकिए किसानको आम्दानी उल्लेख्य रूपमा वृद्धि हुनेछ। “स्ट्रबेरी उच्च मूल्य पर्ने नगदे बाली हो। उचित प्रविधि, तालिम र बजार सुनिश्चितता भए ककनीलाई स्ट्रबेरीको केन्द्रका रूपमा विकास गर्न सकिन्छ,” उहाँले भन्नुभयो।
उहाँले स्थानीय सरकार, कृषि ज्ञान केन्द्र र निजी क्षेत्रबीच सहकार्य गरेर बीउ, प्रविधि, भण्डारण तथा प्रशोधनमा लगानी गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। यसले रोजगारी सिर्जना गर्नुका साथै युवा पुस्तालाई कृषितर्फ आकर्षित गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो।
पर्यटनसँग जोडेर स्ट्रबेरी खेतीको प्रवर्द्धन गर्न सकिने बताउँदै अधिवक्ता भण्डारीले ‘स्ट्रबेरी फर्म टुरिज्म’ जस्ता अवधारणाले ककनीको पर्यटन विकासमा समेत टेवा पुर्याउने उल्लेख गर्नुभयो। “कृषि र पर्यटनलाई जोडेर अगाडि बढ्न सके ककनी मात्र होइन, समग्र नुवाकोटको समृद्धिमा सकारात्मक प्रभाव पर्छ,” उहाँको भनाइ छ।
हाल ककनी क्षेत्रमा केही किसानहरूले व्यावसायिक रूपमा स्ट्रबेरी खेती सुरु गरिसकेका छन्। स्थानीय स्तरमै उत्पादन र बिक्री बढ्दै गएपछि यसले नुवाकोटको कृषि अर्थतन्त्रलाई नयाँ दिशा दिने अपेक्षा गरिएको छ।
Home banner news ककनीको स्ट्रबेरी खेतीले नुवाकोटको आर्थिक विकासमा टेवा पुर्याउने छ : अधिवक्ता रामेश्वर...











