नुवाकोटको समृद्धि र मुलुकको नीति निर्माण मेरो पहिलो प्राथमिकता : स्वतन्त्र उम्मेदवार अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट — स्वतन्त्र उम्मेदवार अधिवक्ता रामेश्वर भण्डारीले नुवाकोटको समृद्धि र मुलुकको नीति निर्माण प्रक्रियामा सक्रिय तथा प्रभावकारी भूमिका निर्वाह गर्नु आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्। चुनावी अभियानका क्रममा विभिन्न स्थानमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले स्थानीय विकासलाई राष्ट्रिय नीतिसँग जोडेर अगाडि बढाउनुपर्ने आवश्यकता औंल्याए।
भण्डारीले नुवाकोटको दीगो विकासका लागि स्पष्ट योजना, पारदर्शी कार्यप्रणाली र जवाफदेही नेतृत्व अपरिहार्य रहेको उल्लेख गरे। उनले भने, “नुवाकोटको समृद्धि केवल आश्वासनले सम्भव छैन, त्यसका लागि नीति तहबाटै सुधार, सुशासन र प्रभावकारी कार्यान्वयन आवश्यक छ।”
उनका अनुसार सडक, खानेपानी, शिक्षा, स्वास्थ्य र रोजगारी जस्ता आधारभूत क्षेत्रको सुधारसँगै आर्थिक र सामाजिक विकासलाई सन्तुलित रूपमा अगाडि बढाउनुपर्नेछ। स्थानीय आवश्यकतालाई केन्द्रमा राखेर नीति निर्माण गर्न सके मात्र विकासको प्रतिफल जनतासम्म पुग्ने उनको भनाइ छ।
भण्डारीले सुशासन, मानव अधिकारको संरक्षण, भ्रष्टाचार नियन्त्रण र नागरिक सर्वोच्चताको पक्षमा आफू निरन्तर उभिने प्रतिबद्धता व्यक्त गरे। उनले दलगत स्वार्थभन्दा माथि उठेर विकास र समृद्धिको साझा एजेन्डामा काम गर्ने बताउँदै मतदातालाई विवेकपूर्ण निर्णय गर्न आग्रह गरेका छन्।
स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रिएका भण्डारीले नुवाकोटलाई नमूना जिल्लाका रूपमा स्थापित गर्ने लक्ष्यसहित आफ्नो अभियान अगाडि बढाइरहेको बताउनु भएको छ ।

LEAVE A REPLY