तादीखोला संरक्षणमा हामी सबै लाग्नुपर्छ : अधिवक्ता रामेश्वर भण्डारी

नुवाकोट — तादीखोला संरक्षण आजको आवश्यकता भएको भन्दै अधिवक्ता रामेश्वर भण्डारीले यसको संरक्षणमा सबै सरोकारवाला पक्ष एकजुट हुनुपर्ने बताएका छन्। पछिल्लो समय अव्यवस्थित उत्खनन्, फोहोर व्यवस्थापनको अभाव तथा मानवीय हस्तक्षेपका कारण तादीखोलाको प्राकृतिक स्वरूप बिग्रँदै गएकोप्रति उनले चिन्ता व्यक्त गरे।
भण्डारीले नदी तथा खोलाहरू केवल पानीको स्रोत मात्र नभई जैविक विविधता, कृषि उत्पादन र स्थानीय जनजीवनसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै तादीखोलाको संरक्षणले समग्र क्षेत्रको दिगो विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए।
उनले स्थानीय सरकार, सरोकारवाला निकाय तथा नागरिक समाजबीच समन्वय गरी प्रभावकारी योजना निर्माण र कार्यान्वयन गर्न आवश्यक रहेको औंल्याए। “खोला संरक्षण केवल सरकारी दायित्व मात्र होइन, यो सम्पूर्ण नागरिकको साझा जिम्मेवारी हो,” उनले भने।
त्यस्तै, उनले अनियन्त्रित ढुंगा, गिट्टी, बालुवा उत्खनन् रोक्न, नदी किनारमा वृक्षारोपण गर्न तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए।
स्थानीय बासिन्दाले पनि तादीखोलाको संरक्षणमा चासो देखाउन थालेका छन्। सरोकारवालाहरूको संयुक्त प्रयासले मात्र तादीखोलाको दीर्घकालीन संरक्षण सम्भव हुने विश्वास व्यक्त गरिएको छ।











