नुवाकोटको  विकासमा सामाजिक विभेद, रुढीवादी सोच र असक्षम राजनीति मुख्य बाधक : अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट । अधिवक्ता रामेश्वर भण्डारीले नुवाकोटको समग्र विकासमा सामाजिक विभेद, रुढीवादी कुसंस्कार, असक्षम राजनीतिक नेतृत्व तथा जनचेतनाको कमी मुख्य बाधकका रूपमा रहेको बताएका छन्।
उनले जिल्लामा सडक, भवन र अन्य भौतिक पूर्वाधार निर्माण भए पनि सामाजिक सोच र आर्थिक अवसरको विकास हुन नसक्दा अपेक्षित परिवर्तन आउन नसकेको उल्लेख गरे। “विकास केवल संरचना निर्माणले मात्र सम्भव हुँदैन, समाजको सोच, शिक्षा, उत्पादन र चेतनाको स्तर पनि परिवर्तन हुन आवश्यक छ,” भण्डारीले बताए।
उनका अनुसार जातीय विभेद, छुवाछुत, अन्धविश्वास, महिला र दलितमाथिको असमान व्यवहार जस्ता समस्याले अझै पनि समाजलाई पछाडि धकेलिरहेको छ। युवाशक्ति विदेश पलायन भइरहेका बेला जिल्लामा उद्योग, प्राविधिक शिक्षा र रोजगारी सिर्जना गर्ने दीर्घकालीन योजना बन्न नसकेको उनको भनाइ छ।
भण्डारीले राजनीतिक नेतृत्वले जनताको वास्तविक आवश्यकता भन्दा सत्ता र स्वार्थ केन्द्रित राजनीति गर्दा विकासको गति कमजोर भएको आरोप लगाए। उनले नुवाकोटमा कृषि, पर्यटन, जलस्रोत र धार्मिक सम्पदाको प्रशस्त सम्भावना हुँदाहुँदै त्यसको सही उपयोग हुन नसकेको बताए।
उनले सामाजिक चेतना अभिवृद्धि, गुणस्तरीय शिक्षा, उत्पादनमुखी नीति र जिम्मेवार राजनीतिक संस्कारको विकासमार्फत मात्रै नुवाकोटलाई समृद्ध बनाउन सकिने धारणा व्यक्त गरे।

LEAVE A REPLY