राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्याबारे नुवाकोटमा अन्तरक्रिया सम्पन्न
नुवाकोट, असार ११ — क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नुवाकोट जिल्ला समितिको आयोजनामा “राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्या” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
जिल्ला सेक्रेटरी अर्जुनलाल श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी कमिटी सदस्य रामसिंह श्रीष प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा ८ नम्बर  इन्चार्ज सरोज पौडेल, ८ ब्युरोका सचिव, नेकपा (एमाले) नुवाकोटका जिल्ला सचिव शिव चित्रकार, वामपन्थी बुद्धिजीवी इन्द्र पण्डित, प्रा. डा. शम्भुप्रसाद कटेल तथा स्वतन्त्र वामपन्थी नेता एवं अधिवक्ता रामेश्वर भण्डारीको विशेष उपस्थिति रहेको थियो।
अन्तरक्रिया कार्यक्रममा नुवाकोटका वास्तविक सुकुम्बासीहरूको समेत बाक्लो सहभागिता रहेको थियो। सहभागी सुकुम्बासीहरूले आफूहरूले भोग्दै आएका भूमि व्यवस्थापन, आवास तथा जीविकोपार्जनसँग सम्बन्धित विभिन्न समस्या र पिरमर्का प्रस्तुत गरेका थिए।
कार्यक्रममा बोल्ने वक्ताहरूले राष्ट्रिय स्वाधीनताको संरक्षण, देशको आर्थिक आत्मनिर्भरता तथा भूमिहीन र सुकुम्बासी नागरिकहरूको समस्या समाधानलाई राज्यको प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका थिए। उनीहरूले वास्तविक सुकुम्बासीहरूको पहिचान गरी वैज्ञानिक र न्यायोचित ढंगले भूमि व्यवस्थापन तथा स्थायी बसोबासको व्यवस्था गर्न सरकारसँग माग समेत गरेका थिए।
वक्ताहरूले राष्ट्रिय हित, जनजीविकाका सवाल तथा सामाजिक न्यायका विषयमा राजनीतिक दल, नागरिक समाज र सरोकारवाला निकायबीच साझा पहल आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रममा उपस्थित सहभागीहरूले राष्ट्रिय स्वाधीनता, भूमि समस्या तथा सुकुम्बासीहरूको अधिकार सुनिश्चित गर्न राज्यले प्रभावकारी नीति र कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएका थिए। अन्तरक्रियाले राष्ट्रिय स्वाधीनता र सुकुम्बासी समस्याका विषयमा व्यापक बहस तथा सुझाव संकलन गर्न महत्वपूर्ण योगदान पुगेको आयोजकले जनाएको छ।

LEAVE A REPLY