नुवाकोटका भूमिहीन र सुकुम्बासीले न्याय पाउनुपर्छ : अधिवक्ता रामेश्वर भण्डारी
नुवाकोट, असार १२ — अधिवक्ता रामेश्वर भण्डारीले नुवाकोटका भूमिहीन र सुकुम्बासी नागरिकले लामो समयदेखि न्यायबाट वञ्चित रहँदै आएको भन्दै उनीहरूको समस्या समाधानका लागि राज्यले प्रभावकारी पहल गर्नुपर्ने बताएका छन्।
क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, नुवाकोट समितिले विदुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिवक्ता भण्डारीले भूमिहीन र सुकुम्बासीका समस्या वर्षौंदेखि समाधान हुन नसक्दा हजारौं परिवार अन्यायमा परेको उल्लेख गरे।
उनले वास्तविक भूमिहीन र सुकुम्बासीको पहिचान गरी उनीहरूलाई कानुनी रूपमा जग्गाको स्वामित्व प्रदान गर्न, सुरक्षित बसोबासको व्यवस्था गर्न तथा सम्मानपूर्वक जीवनयापन गर्ने वातावरण निर्माण गर्न सरकार गम्भीर हुनुपर्ने धारणा राखे।
भण्डारीले भूमिसम्बन्धी समस्या समाधान नगरी सामाजिक न्याय र समावेशी विकासको लक्ष्य हासिल गर्न कठिन हुने उल्लेख गर्दै सम्बन्धित निकायले राजनीतिक स्वार्थभन्दा माथि उठेर जनताको हितमा काम गर्नुपर्ने बताए।
कार्यक्रममा सहभागीहरूले पनि भूमिहीन र सुकुम्बासीका समस्या समाधानका लागि सबै पक्षले साझा पहल गर्नुपर्नेमा जोड दिएका थिए।

LEAVE A REPLY